‘रुमानी’बाट धिरज र साम्राज्ञीको जोडीको कमब्याक, आर्यन बाहिरिए
अनिल योञ्जनको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुमानी रंगहरु’बाट नायक आर्यन अधिकारी बाहिरिएका छन् । यो फिल्मको सुरुवातमा आर्यन र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएका थिए । निर्माणपक्षले आर्यन र साम्राज्ञीले जोडी बाँध्न लागेको घोषणा पनि गरेको थियो । तर, अब यो फिल्ममा आर्यन नहुने पक्का भएको छ ।
आर्यन बाहिरिएपछि फिल्ममा नायक धिरज मगरको प्रवेश भएको छ । निर्माणपक्षले धिरजलाई कथा सुनाएपछि उनी प्रभावित भएका हुन् । यो फिल्ममा हरी लामा ठकुरी र जीएम ठकुरीको लगानी रहनेछ ।
फिल्मको सम्पूर्ण छायांकन अष्ट्रेलियामा हुनेछ । यो फिल्मलाई रोमान्टिक कमेडी कथामा तयार गर्न लागिएको हो ।
साम्राज्ञी र धिरजले फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ एकसाथ काम गरेका थिए । यसपछि, यो जोडीको सर्वाधिक चर्चा पनि भयो । तर, फिल्म रिलिज भइसक्दा यी दुईको सम्बन्धमा दरार आएको थियो ।
यसपछि, यी दुईले एकसाथ काम गर्न सकेका थिएनन् ।
तर, अब भने दर्शकको सर्वाधिक डिमाण्डमा रहेका साम्राज्ञी र धिरज एकसाथ फिल्ममा देखिन लागेका हुन् ।
प्रतिक्रिया