‘दिमाग खराब’ले १० करोड कमाउँदा निर्माताको हातमा दयनीय पैसा आयोः स्वस्तिमा खड्का

नायिका स्वस्तिमा खड्काले फिल्म ‘दिमाग खराब’ले १० करोड ग्रस कलेक्शन गरेको बताएकी छिन् । चलचित्र पत्रकार संघ, नेपालले हेटौडामा आयोजना गरेको ‘प्रथम राष्ट्रिय भेला’मा बोल्दै स्वस्तिमाले भनिन्–‘दिमाग खराबले १० करोडको हारहारीको व्यापार गरेको हो । तर, निश्चलको हातमा कति पैसा आएको छ मलाई थाहा छ । ६ महिनामा ३ करोड लगानी गरेर १० करोड कमाउने भनेको त अरु व्यापारमा संभव छैन । तर, जति निर्माताको हातमा पैसा आउँछ, त्यो भने दयनीय नै रहेछ ।’

स्वस्तिमाले कलाकारहरूको पारिश्रमिकको विषयमा पनि प्रश्न उठाएकी छिन् । उनले भनिन्–‘कलाकारहरुले ५०–६० लाख लिदा त्यसलाई फिर्ता ल्याउन सक्छन् कि सक्दैनन् भनेर बुझ्न पर्छ ।

अहिले हामीले स्टार भ्यालु महँगो पारिश्रमिकमा हेरिरहेका छौं । एउटाले ५० लाख लियो भने अर्कोले ५१ लाख लिनुपर्छ भन्ने सोच हाबी भएको छ ।’

स्वस्तिमाले, कलाकारहरूले महँगो पारिश्रमिक लिए भनेर गर्व गर्न सक्ने अवस्थामा फिल्मको बजार नरहेको बताइन् । उनले भनिन्–‘अहिले फिल्मको बजेट घटाउने होइन, बजार विस्तार गर्ने हो । तर, त्यो अवस्थामा हामी छौं या छैनौं भन्ने पनि हेर्नुपर्छ ।’

स्वस्तिमाले आफूले कहिले पनि पारिश्रमिकको हल्ला गरेर स्टार भ्यालुको चर्चा नगर्ने तर्क गरिन् । 

फिल्म ‘बेहुली फ्रम मेघौली’को तयारीका लागि चितवनमा रहेकी स्वस्तिमाले सिंगो टिमले नै सबै कुरा मिलाएर काम गरिरहेकाले सहज भइरहेको तर्क गरेकी छिन् ।