‘रुखान’मा बिद्रोही महिलाको भूमिकामा नीति शाह फाइनल

सविर श्रेष्ठको निर्देशनमा तयार हुन लागेको फिल्म ‘रुखान’को लागि नायिका फाइनल गरिएको छ । यो फिल्मको मुख्य भूमिकामा नायिका नीति शाहले काम गर्ने पक्का भएको हो । 

निर्माणपक्ष र नीतिबीच कागजी संझौता भएको छ । ४ वटा भाषामा निर्माण हुन लागेको यो फिल्मलाई लिएर आफू निकै नै उत्साहित रहेको नीतिले बताइन् । यो फिल्ममा नीति एक विद्रोही महिलाको भूमिकामा देखिदैछिन् । 

नीतिका लागि यो फिल्म विशेष हुने देखिएको छ । फिल्मको केन्द्रीय भूमिकामा रहेकाले पनि उनको कामले चर्चा पाएको खण्डमा उनको करिअरलाई निकै ठूलो फाइदा पुग्नेछ । 

यो फिल्मलाई नेपाली, हिन्दी, अंग्रेजी र भोजपुरी भाषामा बनाउने तयारी निर्माणपक्षको छ । कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डाक्टर रूपक घिमिरेको कथा छ । फिल्मका कार्यकारी निर्माता सविन श्रेष्ठ हुन् । फिल्ममा अर्जुन पोखरेलको संगीत, अभिमन्यु निरवीको पटकथा तथा संवाद रहनेछ । 



यो फिल्म सविन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रा.लि र काइट्स इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको हो । फिल्मको निर्माणमा आवरण स्किन हेयर क्लिनिकले पनि सहकार्य गरेको छ । 

फिल्मले सिंगो देशका नागरिकहरूले समस्याबाट जुध्दै गर्ने संघर्षलाई देखाउने निर्देशक सविर श्रेष्ठले बताएका छन् । उनका अनुसार महिलाको संघर्षको कथालाई देखाउन लागिएकाले नायिकामा नीति शाहलाई अनुबन्धित गरिएको हो । कामको हिसाबमा नीतिको यो दोस्रो फिल्म हुनेछ ।