हलमा नयाँ नयाँ फिल्म, तर बक्स अफिस सुनसान

नेपाली बक्स अफिस सुनसान बनिरहेको छ । हलमा नयाँ नयाँ फिल्म रिलिज भएपनि दर्शकको चाप हलमा नहुँदा बक्स अफिस सुनसान बनेको हो । 

जनवरी २५ मा रिलिजमा आएको फिल्म ‘फाइटर’ले बक्स अफिसमा चमत्कार गर्ने अपेक्षा नेपाली प्रदर्शकको थियो । तर, ऋतिक रोशन र दीपिका पादुकोण जस्ता कलाकार भएर पनि यो फिल्मले कुनै जादु कायम गर्न सकेन । प्रदर्शकहरु निराश बने ।

यसपछि, माघको २६ गतेबाट रिलिजमा आएका दुई प्रतीक्षित नेपाली फिल्म ‘हात्तीछाप र दयारानी’ले पनि दर्शकलाई हलसम्म तान्ने अपेक्षा गरिएको थियो । तर, दोस्रो सातामा प्रवेश गरेका यी दुबै फिल्मको व्यापार पनि अपेक्षित हुन सकेन । 

दयाहाङ राई, सौगात मल्ल जस्ता स्टार नायकहरू भएकाले पनि फिल्मको व्यापार इनिसियल हुने अपेक्षा थियो । तर, दुबै फिल्मको व्यापार कमजोर देखिएको छ । 

‘दयारानी’ले पोखरामा राम्रो व्यापार गरिरहेको छ । अन्य स्टेसनमा दुबै नेपाली फिल्मको व्यापार सन्तोषजनक छैन । 

आजबाट नयाँ फिल्म ‘जिग्री’ रिलिजमा आएको छ । यो फिल्मले पनि बक्स अफिसमा गतिलो सुरुवात गरेको छैन । आज केही हलमा २ शो पाएको फिल्मले भोलि एक शो मात्र पाएको छ । 

यस्तै, हिन्दी फिल्म ‘तेरी बातो मे ऐसा उल्झा जिया’ले पनि नेपाली बक्स अफिसमा सुखद कमाई गरेको छैन । भारतमा भने यो फिल्मले एक सातामा ४७ करोडको  कमाई गरेको छ । 

हलमा नयाँ नयाँ फिल्म आइरहेका छन् । तर, दर्शकको उपस्थिति भने हलमा सुनसान छ । आखिर, दर्शकले कस्तो फिल्म पर्खिरहेका होलान् ?