सौगात भन्छन्–‘अरुले दुःख देख्छन्, मलाई रमाइलो लाग्छ’

नायक सौगात मल्लले फिल्म ‘अगस्त्य च्याप्टर १’का लागि गरेको मिहिनेतको सर्वत्र प्रशंसा भइरहेको छ । 

फिल्मका लागि सौगातले आफ्नो तौल २० केजी घटाएर १० केजी बढाएका थिए । विशेषगरि, उनले तौल घटाएर बनाएको शरीर, ४५ डिग्री तापक्रममा पनि गरेको मिहिनेतको सर्वत्र तारिफ भइरहेको हो । 

तर, सौगात भने यसलाई आफूले रमाइलोको रुपमा लिने बताउँछन् । मिडियासँग कुरा गर्दै उनले भने–‘अरुले बाहिरबाट हेर्दा निकै दुःख पाएको जस्तो देख्नुहुन्छ । अरुले भनेपछि मलाई पनि हो कि जस्तो लाग्छ । तर, मलाई काम गर्दा निकै रमाइलो लाग्छ । मैले जीवनमा फिल्म बाहेक अरु खेल्दिनँ र केही पनि काम गर्दिनँ भनेर नै यो क्षेत्रमा आएको हुँ । यसैले, यी सबै काममा म रमाउँछु ।’

फिल्म क्षेत्रमा अझै बलियो भूमिका नपाएको विषयमा पनि सौगातले घुमाउरो जवाफ दिएका छन् । के तपाइलाई फिल्म क्षेत्रले प्रयोग गर्न नसकेको हो भन्ने प्रश्नमा सौगातले भने–‘मलाई तपाइहरुले प्रश्न सोधेपछि हो कि जस्तो लाग्न थालेको छ । सायद होला ।’

फिल्म ‘अगस्त्य’मा आफूले गरेको भूमिका लामो समयसम्म पनि दर्शकको दिमागमा बस्ने विश्वास उनको छ । यसका लागि फिल्मको सबै टिमले मिहिनेत गरेको सौगातले बताए । फागुन १८ गतेबाट रिलिजमा आउन लागेको फिल्मको टिजरपछि ट्रेलर निकै तारिफ पाइरहेको छ ।