मलाई प्रेमिका भन्दा श्रीमतिकै भूमिका बढी सुहाउँछः वर्षा राउत

नायिका वर्षा राउतले फिल्मको पर्दामा नायकको प्रेमीका भन्दा श्रीमतिको भूमिकामा बढी काम गरेकी छिन् । फिल्म ‘नाई नभन्नु ल ४’बाट करिअर सुरुवात गरेकी वर्षाले विशेषगरि ‘जात्रा’मा नायक विपिन कार्कीको श्रीमतिको भूमिकामा काम गरिन् । फिल्म ‘के घर के डेरा होस् या जात्रै जात्रा’ नै किन नहोस्, उनी श्रीमतिकै भूमिकामा छिन् । 

फिल्म ‘महाजात्रा’मा पनि उनलाई दर्शकले विपिनकै श्रीमतिको भूमिकामा देख्दैछन् । अब, छायांकनमा जान लागेको फिल्म ‘मेयर’मा पनि वर्षा नायक खगेन्द्र लामिछानेको श्रीमतिकै भूमिकामा देखिन लागेकी छिन् । 

वर्षा अब आफ्नो उमेर पनि भएको स्विकार गर्छिन् । उनले भनिन्–‘अब उमेर पनि हुँदै गयो नी । उमेर भएपछि नसुहाउने क्यारेक्टर नगरेकै राम्रो । हुनत, मलाई सुहाउँछ पनि होला, तर मिलाएर गर्नुपर्छ होला । उमेर बढ्नु भनेको सामान्य प्रक्रिया नै हो ।’

वर्षाले सामाजिक संजालमा मानिसहरू पाको भयो भने आउने नकारात्मक प्रतिक्रियामा पनि टिप्पणी गरिन् । भनिन्–‘फिल्ममा होस् या रियल लाइफमा नै किन नहोस्, मान्छेको उमेर बढ्दै जान्छ । समयले पनि यही देखाउँछ । यो कुरा स्विकार गर्न आवश्यक छ ।’

फिल्म ‘अवतार’मा भने आफू नायक पल शाहकी प्रेमिकाको भूमिकामा देखिन लागेको उनको तर्क छ । 

वर्षाले गतबर्ष काममा ब्रेक लगाइन् । उनले करिब ८ महिना त फिल्म नै साइन गरिनन् । तर, अहिले भने उनले लगालग काम गरिरहेकी छिन् । यो विषयमा उनी भन्छिन्–‘मलाई अफर आएका स्क्रिप्टहरु चित्त नै बुझेको थिएन । चित्त नबुझी काम गर्ने कुरा पनि आएन नी । अहिले राम्रो टिम, राम्रो भूमिका आएको छ । यसैले, काम गर्न उत्साहित भएकी हुँ ।’

उनले, आफूलाई चित्त नवुझी काम गर्न कहिले पनि नहतारिने तर्क गरिन् । वर्षा अभिनित फिल्म ‘महाजात्रा’ चैत्रको ९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मलाई लिएर वर्षा निकै उत्साहित देखिएकी छिन् ।