‘सक्किगोनी’को टिमको पहिलो फिल्म ‘लाज शरणम्’

चर्चित हाँस्य सिरियल ‘सक्किगोनी’को टिमले नयाँ फिल्म निर्माणको घोषणा गरेको छ । यो सिरियलको टिमले बनाउन लागेको पहिलो फिल्मको नाम ‘लाज शरणम्’ राखिएको छ । 

सरस्वती पूजाको अवसरमा फिल्मको नाम सार्वजनिक गर्दै काम अगाडि बढेको जानकारी दिइएको हो । यो फिल्मलाई कुमार कट्टेल र अर्जुन घिमिरेको टिमले निर्देशन गर्ने जानकारी समेत दिइएको छ । 

फिल्ममा कुमार, अर्जुनका साथमा ‘सक्किगोनी’मा काम गरेका थुप्रै कलाकारहरूको अभिनय रहनेछ । यस्तै, फिल्ममा फिल्म क्षेत्रका नाम चलेका कलाकारहरूलाई पनि समावेश गर्ने तयारी यो टिमको छ । 

फिल्मको छायांकन आउँदो बर्षबाट सुरु हुनेछ । कमेडी जनरामा निर्माण हुने फिल्मको पहिलो ड्राफ्टको स्क्रिप्टको काम सकिएको वुझिएको छ । अझै, केही चरण स्क्रिप्टमा बसेर फाइनल गर्ने तयारी निर्माण टिमको छ । 

यसअघि फिल्म ‘फनफनी’ बनाउने तयारी गरेपनि काम अगाडि बढाउन नसकेको यो टिमले अब भने ‘लाज शरणम्’लाई निर्माण गरेर आउँदो बर्ष नै  रिलिज गर्ने तयारी थालेको हो । 

सिरियलमा हिट भएपछि फिल्ममा आउने टिमको संख्या धेरै छ । जसमा दीपकराज गिरीको टिम सर्वाधिक हिट मानिन्छन् । अब, ‘सक्किगोनी’को टिमले सिरियलमा पाएको सफलतालाई फिल्ममार्फत अगाडि बढाउने तयारी गरेका छन् ।