खगेन्द्र र वर्षाको ‘मेयर’को शुभसाइत

केही राम्रो काम गरेर छाड्छु भन्ने संकल्प बोकेको एक मान्छेले कठिन परिस्थिति र अवरोधका बीच कसरी समाजलाई राम्रो बाटोमा डोर्याउन सक्छ भन्ने कथामा फिल्म ‘मेयर’ बन्ने भएको छ । आज यो फिल्मको पूजा गर्दै शुभसाइत गरिएको छ । 

यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जीवन संघर्षलाई प्रस्तुत गर्नेछ । तर, फिल्मले भरतको बायोपिक भने प्रस्तुत नगर्ने निर्देशक तथा कार्यकारी निर्माता दीपेन्द्र के खनालले जानकारी दिए । 

यो फिल्मलाई शर्मिला पाण्डे र श्रृष्टिमाँ खनालको लगानी रहनेछ । निर्मात्री पाण्डेले उत्कृष्ट कथाका कारण आफूले फिल्ममा लगानी गरेको बताइन् ।

कृष्ण बहादुर थापाको छायांकन रहने फिल्ममा जयन जे वाइवा र कल्याण सिंहको संगीत, महेश दवाडीको पटकथा रहनेछ । 



यो फिल्ममा खगेन्द्र लामिछानेले शीर्ष भूमिकामा काम गर्दैछन् । उनले, फिल्मले मेयर थापाले गरेका राम्रा काम र उनको बारेमा उठेका प्रश्नहरूको पनि जवाफ दिने बताए । यस्तै, फिल्ममा मेयरकी श्रीमतीको भूमिकामा नायिका वर्षा राउतले काम गर्नेछिन् ।

फिल्ममा अर्पण थापा, अनुप बराल, दिव्य देव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश वुढाथोकी, अर्विशा थापा, संजोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बीसी लगायतको पनि मुख्य भूमिका रहनेछ ।

फिल्मको छायांकन काठमाडौं र सर्लाहीमा हुनेछ । फागुनको १२ गतेबाट फिल्मको छायांकन सुरु गरिने निर्माणपक्षले बताएको छ ।