भ्यालेन्टाइन डे विशेषः पूजा–युद्धदेखि सविन–अनुको प्रेम

आज भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । उसो त, विगत केही बर्षदेखि भ्यालेन्टाइन डेलाई एक सातासम्म मनाउन थालिएको छ । तर, फेब्रुअरी १४ लाई माया गर्नेहरूका लागि विशेष दिनको रुपमा लिइन्छ । 

नेपाली फिल्म क्षेत्रका कलाकारहरूले पनि यो दिनलाई विशेष रुपमा बनाउँदै आएका छन् । बिबाहित हुन् या अविवाहित नै किन नहुन, अधिकांश जोडीले यो दिनलाई विशेष मान्ने गरेका छन् । नेपाली फिल्मका धेरै कलाकारहरूले त प्रेममा रहेपछि  बिहे गरे । तर, कतिपय कलाकार भने प्रेममा छन् र बिहेको तयारी पनि गर्दैछन् । 

नायिका पूजा शर्मा विगत ३ बर्षदेखि व्यवसायी युद्ध बनियाँको प्रेममा छिन् । पूजा र युद्धको भेट पनि भ्यालेन्टाइन डेको दिनमै भएको थियो । सुरुवातमा युद्धसँग पूजाको भेट बिहेका लागि कुरा अगाडि बढेपछि भएको हो । यसपछि, नजिक भएका यी दुई जीवनको सहकार्यमा रमाइलोसँग अगाडि बढिरहेका छन् । यी दुईले झम्सिखेलमा ट्याग रेष्टुरेण्ट पनि संचालनमा ल्याइसकेका छन् । पूजाका अनुसार, उनीहरू आउँदो बर्ष बिहे गर्ने तयारीमा छन् । पूजाले एक टेलिभिजन कार्यक्रममा पनि आउँदो बर्ष बिहे गर्ने उल्लेख गरेकी छिन् । 

नायक सविन श्रेष्ठ र नायिका अनु शाह लामो समयदेखि प्रेममा छन् । एक मिडियाका लागि फोटोसुट गर्ने क्रममा भेट भएपछि अनु र सविन नजिक भएका हुन् । यसपछि, सविन र अनुको प्रेममा धेरै नै उतारचढाव आयो । तर, पनि उनीहरूको प्रेम अनवरत रुपमा चलिरहेको छ । सविन र अनुले पनि बिहे गर्ने भनेको धेरै बर्ष भइसकेको छ । केही समय अगाडि यी दुईले अदालतमा पुगेर बिहे गरेको खबर पनि सार्वजनिक भएको थियो । सविनले आज सामाजिक संजालमा लेखेका छन्–‘तिमीलाई सम्मान दिन सक्छु । आकाशको जुन तारा टिपेर दिन्छु भन्ने त झूट मात्र हो ।’

नायक आकाश श्रेष्ठ र नायिका तथा मोडल करुणा श्रेष्ठ पनि प्रेममा छन् । तर, उनीहरूले सार्वजनिक रुपमा प्रेम स्विकार गरिसकेका छैनन् । तर, आकाश र करुणाको प्रेम सबै सामु छर्लङ्ग नै छ । आकाश र करुणा एक अर्कासँग नजिकिएको केही बर्ष भयो । यसपछि, उनीहरूले एकसाथ थुप्रै म्युजिक भिडियोमा पनि काम गरिसकेका छन् । आकाश र करुणाको प्रेम पनि निरन्तर अगाडि बढिरहेको छ । उनीहरूले बिहेको विषयमा भने केही बताएका छैनन् । 


नायक सलिनमान बनियाँ पनि प्रेममा छन् । उनी लामो समयदेखि अस्प्रिना श्रेष्ठको प्रेममा छन् । फिल्म ‘ए मेरो हजुर २’ रिलिज भएपछि नै सलिनमानले प्रेम सार्वजनिक गरेका हुन् । यी दुईले बिहेको तयारी समेत गरेका थिए । तर, अस्प्रिना अध्ययनका लागि विदेश उडेपछि उनीहरूको बिहे योजना रद्द भएको हो । सलिनमान यसपछि भने रेष्टुरेण्ट व्यवसायमा लागिरहेका छन् । साथै, अब उनी नयाँ फिल्ममा पनि काम गर्दैछन् । सलिनमानले केही बर्ष अगाडि आफ्नी प्रेमिकाको जन्मदिनमा रिङ उपहार दिएका थिए । 

उसो त फिल्म ‘फर्की फर्की’मा जोडिएपछि नायक अनमोल केसी र नायिका जसिता गुरुङको पनि प्रेम चर्चा फिल्म वृत्तमा खुबै चलेको छ । अनमोलको जसिताले निकै केयर गर्ने गरेको खबरहरू पनि सार्वजनिक भइरहेका छन् । तर, यी दुईले आधिकारिक रुपमा प्रेमको विषयमा केही पनि बोलेका छैनन् । किनकी, अनमोल प्रेमको खबरमा सधैं नै मौन बस्ने नायक हुन् । 

नायक पुष्प खड्का पनि प्रेममा रहेको वुझिएको छ । फिल्म क्षेत्र भन्दा बाहिरकी युवतीसँग उनी प्रेममा रहेको वुझिएको छ । तर, पुष्पले पनि आफ्नो प्रेमलाई सधैं नै गोप्य राख्दै आएका छन् । 
केही बर्ष अगाडि सम्म प्रेमको खबरले रँगिने नायकहरू पल शाह, प्रदीप खड्का, धिरज मगरको अहिले भने प्रेमको चर्चा छैन ।