विश्वज्योतीको विरासत फर्काउन नै धौ–धौ, के गोपीकृष्णको फर्किएला त ?
वि.सं २०५२ सालमा स्थापना भएको गोपीकृष्ण मुभिजले करिब २५ बर्ष फिल्म क्षेत्रमा बलियो उपस्थिति जनायो ।
गोपीकृष्ण मुभिजका सात पर्दामा फिल्म रिलिज गर्नका लागि निर्माताहरू हानथाप गर्थे । गोपीकृष्णमा फिल्म चलेपछि देशैभर चल्छ भन्ने सोच निर्मातामा थियो ।
नेपाली फिल्मका लागि निकै राम्रो सेयर दिएको यो हल आजबाट पूर्ण रुपमा बन्द भएको छ । प्रबन्ध निर्देशक निरक पौडेलले केही दिन अगाडि विज्ञप्ति जारी गर्दै हल बन्द गर्ने निर्णय गरेका हुन् । सोही अनुसार, आजबाट गोपीकृष्ण हलमा फिल्म रिलिज हुने छैनन् ।
गोपीकृष्ण मुभिजले नेपाली फिल्म क्षेत्रमा २५ बर्ष बलियो विरासत कायम गर्यो । निर्माताहरूले पैसा समयमा नपाएको गुनासो पनि यो हलसँग खुबै गरे । तर, पनि यो हलले धेरै कलाकारलाई स्टार बनायो । कलाकारको स्टारडमको परीक्षण गर्ने मुख्य माध्यम नै यही हल बनेको थियो ।
उसो त, गोपीकृष्ण मुभिज फेरि उठ्नेछ । १४ तलाको मल बनाउने तयारीका साथ काम पनि अगाडि बढाइएको छ । भवनको माथिल्लो तलामा ७ पर्दाको हल तयार गर्ने योजना संचालकको छ । तर, कति बर्षपछि यो मल तयार हुनेछ भन्ने पक्का छैन । मल सुचारु भएपछि संचालनमा आउने ७ पर्दाको हलले पुरानो विरासत फर्काउला या फर्काउला, प्रतीक्षा गर्नैपर्छ ।
गोपीकृष्णको जस्तै क्रेज विश्व ज्योती सिनेमाको पनि थियो । यो हलमा पनि फिल्म चलाउनका लागि निर्माताहरूले मरिहत्ते गर्थे । कुनै समय, यो हलमा फिल्म चलाउन सिन्डिकेट थियो । काठमाडौं भित्र यो हलमा फिल्म चलाउनका लागि निर्माताले २–३ वर्षसम्म कुर्थे ।
तर, जब विश्वज्योतीको मुख्य भवन भत्काएर मल बनाइयो, यसपछि भने यसको विरासत फर्काउन संचालकलाई धौ–धौ परिरहेको छ । मलको माथिल्लो तलामा २ पर्दाको हल संचालनमा त छ । तर, पहिलेको जस्तो क्रेज अहिले यो हलमा छैन । अहिले विश्वज्योती हलमा फिल्म तथा म्युजिक भिडियोका रिलिजका कार्यक्रम धेरै हुने गरेका छन् ।
सिंगल थिएटरमा नाम कमाएका विश्वज्योती र गोपीकृष्णको विरासत अब फर्किनेमा शंका नै छ । यसका लागि संचालकहरुले कडा मिहिनेत गर्न आवश्यक देखिन्छ ।
प्रतिक्रिया