ओभरसिज र डिजिटल राइट्सकै भरमा बन्दैछन् नेपाली फिल्म

नेपाली फिल्मको निर्माण ह्वात्तै बढ्दैछ । घोषणा भएका र छायांकनको तयारीमा रहेका फिल्मको संख्या हेर्ने हो भने पनि अर्को बर्ष रिलिजमा भिडन्त हुने पक्का छ । यसैले, त अहिले नै दशैँको वरिपरी मात्र ५ वटा फिल्म रिलिज पक्का भइसकेको छ । अझै, दशैँलाई लक्षित गरेर केही फिल्मको प्रदर्शन मिति घोषणा हुन लागेको वुझिएको छ । 

फिल्म निर्माण बढेसँगै कलाकारहरूको हातमा पनि फिल्मको लामो लाइन छ । दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, प्रदीप खड्का, पल शाह जस्ता नायकको हातमा फिल्मको लामो लाइन छ । यी बाहेक अन्य कलाकारहरूसँग पनि फिल्मको अभाव छैन । 

नेपाली फिल्मको निर्माण यसरी बढ्नुको कारण के होला ? विशेषगरि, अहिले फिल्म निर्माणको क्रम बढ्नुमा २ कारण मुख्य मानिएको छ । 

नाम चलेका मेकरका लागि अहिले फिल्म बनाउन सहज छ । उनीहरूले आफ्नै लगानी फिल्ममा गर्नु नै पर्दैन भन्ने चर्चा समेत फिल्म बजारमा सुनिन्छ । फिल्मको कथा तयार भएपछि डिजिटल राइट्स र ओभरसिज राइट्सबाट नै फिल्म बनाउने पैसा आउने गरेको चर्चा खुबै छ । 

यो विषयमा ओभरसिजमा फिल्म खरिद गर्दै आएका एक व्यक्तिले मेरो फिल्मसँग भने–‘अहिले फिल्म निर्माण बढ्नुको कारण ओभरसिज, डिजिटल राइट्स मात्र होइन, कम बजेटमा फिल्म बनाउन सकिन्छ भन्ने उदाहरण जारीले पेस गर्नु पनि हो । जारी ब्लकबस्टर भएपछि कम बजेटमा फिल्म बनाउन सकिन्छ भन्ने सन्देश निर्मातामा गएको छ । यसले, धमाधम फिल्म निर्माणको घोषणा भएको हो ।’

योसँगै फिल्मको कथा सुनाएपछि मेकर हेरेर डिजिटल राइट्स लिने कम्पनीले पैसा दिने गरेका छन् । यसपछि, ओभरसिज कम्पनीहरूले पनि फिल्म खरिद गर्न थालेका छन् । यी दुवै हुँदा निर्मातालाई फिल्मको सुरुवात गर्न सजिलो भएको छ । जसकाकारण, फिल्म निर्माणको संख्या ह्वात्तै बढेका छन् । 

यसमा पनि अझ, रामबाबु गुरुङ, दीपकराज गिरी, प्रदीप भट्टराई, निश्चल बस्नेत, दीपेन्द्र के खनाल जस्ता मेकरका फिल्मलाई ओभरसिज राइट्स खरिद गर्नेहरूले आँखा चिम्लेर विश्वास गर्ने गरेको देखिन्छ । डिजिटल राइट्सको खरिद गर्ने कम्पनीहरूले पनि उनीहरूलाई सहजै विश्वास गर्ने गरेका छन् । 

यी बाहेक फिल्मको घोषणा गरेर दयाहाङ राई, सौगात मल्ल, विपिन कार्की, खगेन्द्र लामिछाने, अनमोल केसी, पल शाह, प्रदीप खड्का जस्ता कलाकार लिँदा बजारमा फिल्मको हाइप ह्वात्तै बढ्ने गर्छ । यसपछि, डिजिटलदेखि ओभरसिज राइट्स खरिद गर्नेहरू बढी आकर्षित भएको पाइन्छ । यसले, फिल्म बनाउन सहज भएको छ । 

मेरो फिल्मले ‘फिल्म क्षेत्रमा तपाइहरुको दबदबा बढेको छ रे हो’ भनेर ओभरसिज राइट्स खरिद गर्ने एक कम्पनीका सदस्यलाई सोधेको थियो । नाम उल्लेख नगरीदिन आग्रह गर्दै उनले भने–‘हामीले फिल्मको बजारमा कुनै पनि प्रभाव पारेका छैनौं । मेकरलाई आफ्नो फिल्म कतिमा कसलाई बेच्ने भन्ने पूर्ण अधिकार हुन्छ नी होइन । अर्कोतिर, हामीले कुनै कलाकारको नाममा फिल्म किन्दैनौँ । हामी मेकर हेरेर फिल्म किन्छौँ ।’

एउटा कुरा के प्रष्ट हो भने, अहिले नेपालका अधिकांश मेकर ओभरसिज राइट्स र डिजिटल राइट्सबाट प्राप्त हुने रकमकै भरमा फिल्म बनाइरहेका छन् । त्यसमाथि पनि, नाम चलेका ब्यानर र कलाकारलाई नेपालका वितरकले पनि राम्रै पैसा दिने गरेका छन् । जसकाकारण, दयाहाङ राई जस्ता कलाकारको टाउकोमा करोडौं रकमको जोखिम बढेको छ भने फिल्म निर्माणको संख्या पनि ह्वात्तै बढेको छ ।