निर्मात्री भएपछि स्वस्तिमा भन्छिन्–‘बैंकबाट पैसा काटिएको सन्देश खुबै आउँदो रहेछ’

नायिका स्वस्तिमा खड्काले निर्माण तथा अभिनय गर्न लागेको फिल्म ‘बेहुली फ्रम मेघौली’को वर्कशप चलिरहेको छ । यो फिल्मको छायांकन फागुनको दोस्रो साताबाट सुरु हुँदैछ । 

यो फिल्मलाई लिएर स्वस्तिमा निकै नै उत्साहित छिन् । अर्कातिर, स्वस्तिमालाई निर्मात्री बनेपछि के फरक हुँदोरहेछ भन्ने पनि थाहा भइरहेको छ । 
स्वस्तिमा भन्छिन्–‘अहिले बैँकबाट पैसा काटिएको सन्देश खुबै आउँदो रहेछ । फरक यही नै हो जस्तो लाग्यो । तर, पैसा भनेको लगानी नै हो, यसलाई ठूलो मान्नु हुँदैन । मुख्य कुरा भनेको फिल्म राम्रो बन्नुपर्छ भन्ने हो । हामी यसका लागि मिहिनेत गरिरहेका छौँ ।’

स्वस्तिमाले फिल्म निर्माणको प्रक्रियामा टिम निकै नै राम्रो रहेकाले पनि आफूलाई केही गाह्रो नभएको बताइन् । उनले भनिन्–‘मलाई अहिले भेट्नेहरूले पनि निर्माता ज्यू, गाह्रो भइरहेको छ कि के छ भनेर सोध्नुहुन्छ । तर, मैले त्यस्तो महशुश गर्न पाएको छैन । सायद, सुरुवाती चरण भएर पनि हुनसक्छ । तर, हामीले जुन टिम बनाइरहेका छौँ, त्यो निकै राम्रो छ ।’

स्वस्तिमाले आफूहरूले फिल्मको विषयवस्तुमा नै बढी मिहिनेत गरेको सुनाइन् । नेपाली नायिकाहरूले निर्माण प्रक्रियामा हात हालिरहेको समयमा स्वस्तिमाले पनि अब आफूलाई नयाँ ढंगबाट अगाडि बढाउन लागेकी हुन् । नेपाली फिल्म क्षेत्रको सर्वाधिक माग भएकी नायिकाको रुपमा स्वस्तिमा अगाडि छिन् । अब, उनको निर्माताको रुपमा करिअर भने कुन रुपमा अगाडि बढ्छ, हेर्न बाँकी छ ।