अब केही फरक भूमिका गर्नुपर्छ भन्ने लागेको छः उपासना सिंह ठकुरी

नायिका  उपासना सिंह ठकुरीले अब आफूलाई केही फरक भूमिका गर्नुपर्छ भन्ने लागेको बताएकी छिन् । फिल्म ‘हात्तीछाप’को प्रचारमा रहेकी उपासनाले मिडिया कुराकानीमा भनिन्–‘मलाई पनि अब केही फरक भूमिकामा काम गर्नुपर्छ भन्ने लाग्न थालेको छ । तर, मलाई दर्शकले व्यक्तिगत रुपमा त केही भन्नुभएको छैन ।’

उपासनाले आफूले फरक भूमिका गर्न चाहे पनि स्क्रिप्ट भने उस्तै खालको आउने गरेको बताइन् । उनले भनिन्–‘यस्तै भूमिका नै गर्छु भन्ने त दिमागमा आएको छैन । तर, स्क्रिप्ट अफर आएपछि त्यसलाई नै विकास गर्न पनि सकिन्छ नी ।’

फिल्म ‘क्याप्टेन’बाट करिअर सुरुवात गरेकी उपासनाले ‘हात्तीछाप’सम्म आइपुग्दा आफ्नो भूमिकामा फरकपन ल्याउन सकेकी छैनन् । उनी सधैं नै गाउँले युवतीको भूमिकामा नै फिल्ममा देखिएकी छिन् । 

उपासनाले अभिनय गरेका ‘क्याप्टेन, २ नम्बरी, कबड्डी ३, हात्तीछाप’ लगायतका फिल्ममा उनको भूमिका उस्तै छ । यसैले, अब उनले पनि केही नयाँ भूमिकामा आफूलाई ढाल्न आवश्यक छ । 

उपासनालाई नेपाली फिल्म क्षेत्रमा लक्की नायिका पनि मानिन्छ । तर, उपासना भने आफूलाई लक्की मान्न तयार छैनन् । आफूले काम गरेको टिम नै राम्रो रहेको उनको भनाई छ ।