दुर्गेश थापामाथि जुत्ता प्रहार, स्टेजमा असुरक्षित बन्दैछन् कलाकार

नेपाली गायक–गायिकाहरु स्टेज कार्यक्रममा असुरक्षित र विवादित बनिरहेका छन् । विशेषगरि, फ्यानसँग उनीहरूले गर्ने व्यवहार र फ्यानले उनीहरूलाई गर्ने व्यवहारका कारण कलाकारहरू असुरक्षित बनिरहेका थुप्रै घटनाबाट प्रष्ट हुन्छ । 

शनिबार बेलुकी आयोजना भएको एक महोत्सवमा गायक दुर्गेश थापामाथि जुत्ता प्रहार भएको छ । सार्वजनिक भिडियोमा दुर्गेशमाथि स्पष्ट रुपमा जुत्ता हानिएको देख्न सकिन्छ । स्याङजामा आयोजित वालिङ महोत्सवको अन्तिम दिन शनिबार आफ्नो प्रस्तुति दिने क्रममा दुर्गेशमाथि जुत्ता हानिएको छ । दुर्गेशको टाउको माथिबाट जुत्ता गएको देखिन्छ । 

दुर्गेशले भने आफूमाथि जुत्ता प्रहार नभएको बताएका छन् । उनले, कसैको जुत्ता त्यहाँ रहेकाले एक जना भाइले जुत्ता फाल्दा स्टेजमा आएको बताएका छन् । तर, सार्वजनिक भिडियो हेर्दा दुर्गेशले भने जस्तो छैन । करिब २५ हजार दर्शकको अगाडि आफ्नो प्रस्तुति दिइरहेका थापामाथि मदिरा सेवन गरेका व्यक्तिले जुत्ता प्रहार गरेको बताइएको छ । 

स्टेजमा प्रस्तुति दिएको समयमा यस्तो व्यवहार भोग्ने गायक दुर्गेश पहिलो भने होइनन् । केही महिना अगाडि रोमानियामा प्रस्तुति दिने क्रममा गायक प्रकाश सपुतमाथि बोतल प्रहार भयो । एक जना फ्यानले उनीमाथि बोतल प्रहार गरे । बोतल प्रहार भएपछि सपुत निकै नै तनावमा देखिएका थिए । उनले, मिडियासँग कुराकानी गर्दै आफूलाई उक्त घटनाले विक्षिप्त बनाएको बताएका थिए । 

अष्ट्रेलीयामा भने साङ्गीतिक कार्यक्रमको सिलसिलामा मदिरा पिएर गायक सुगम पोखरेलले दर्शकमाथि नै माइक प्रहार गरे । सुगमले पछि टिकटकमार्फत माफी त मागे । तर, पनि सुगमको उक्त व्यवहारको चर्को आलोचना भने भयो । 

दुई बर्ष अगाडि अमेरिकामा आयोजना भएको नयाँ बर्षको कार्यक्रममा प्रस्तुति दिने क्रममा गायक राजेश पायल राईमाथि आक्रमण भयो । उनलाई गीत गाइरहेको समयमा स्टेजमै एक जना व्यक्तिले आक्रमण गरे । 

डेढ बर्ष अगाडि गायिका समीक्षा अधिकारीमाथि पनि स्टेजमा गीत गाइरहेको समयमा ढुंगा प्रहार भयो । सङ्खुवासभामा गीत गाउन स्टेज चढेकी उनीमाथि ढुंगा प्रहार भएको थियो । 

स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिन पुगेका धेरै गायक–गायिकामाथि आक्रमण भइरहेको छ । जसले, उनीहरूको प्रतिष्ठामा आँच आउने गर्दछ । कलाकारहरूले यस्ता घटनाका दोषीलाई माफी दिएर छाड्ने गरेका छन् । तर, यस्तो घटनाहरू रोकिएका छैनन् । यस्ता घटनाहरूलाई रोक्नका लागि आयोजकले सुरक्षा प्रबन्ध मिलाउन आवश्यक छ ।