दुबईदेखि लण्डनसम्मः विवादित कार्यक्रममा किन रमाउँछन् भुवन केसी ?

आफ्नो भिसा नलागेपछि बेलायत जान नपाएका चलचित्र विकास बोर्डका सदस्य के.एल ‘पीडित’ले केही साता अगाडि हंगामा नै मच्चाए । नेशनल डेल्फिकको आयोजनामा बेलायतमा भएको अन्तरक्रिया कार्यक्रममा जानका लागि भिसा आवेदन दिएका पीडितको भिसा नै लागेन । यसपछि, उनले यस्ता कार्यक्रममा विकास बोर्डले सहभागिता जनाउन हुँदैन भन्दै विरोध गरे । 

सोही कार्यक्रम जनवरीबाट पोस्टपोन्ड भएर फेब्रुअरीमा पुग्यो । बेलायतमा यो कार्यक्रम शनिबार आयोजना भएको छ । ‘नेपाली फिल्मको ६ दशक चुनौती र अन्तराष्ट्रिय बजारको खोजी’ विषयक अन्तरक्रिया कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी प्रमुख अतिथि भएर पुगे । 

यती गम्भीर विषयमा बेलायत पुगेर आयोजना गरिएको कार्यक्रममा फिल्मीकर्मीहरुको उपस्थिति भने उदेकलाग्दो नै छ । यस्तो गम्भीर विषयमा बेलायतमै पुगेर फिल्मीकर्मीको उपस्थिति विना नै यो कार्यक्रमको आयोजना गरेर फिल्म क्षेत्रलाई के फाइदा पुग्छ, प्रश्न खडा गर्न सकिन्छ । 

तर, आयोजना हुनु अगाडि नै विवादित बनेको कार्यक्रमका बारेमा नबुझी अध्यक्ष भुवन केसी आफ्ना सहयोगी निराजन गिरीको साथमा बेलायत पुगेका हुन् । यो कार्यक्रममा चलचित्र विकास बोर्डको समेत सहभागिता भएपछि त्यसले पक्कै पनि फिल्म क्षेत्रलाई गहिरो प्रभाव पार्नु पर्ने हो । तर, केही व्यक्तिहरू लण्डन पुगेर फर्किनु बाहेक यो कार्यक्रमले फिल्म क्षेत्रलाई कुनै फाइदा दिने देखिँदैन । 

उसो त विवादित कार्यक्रममा पुगेर रमाउने भुवन केसीको नयाँ शैली होइन । यस अगाडि पनि उनले दुबईमा ‘फिल्म महोत्सव’ भन्दै सहभागिता जनाएका थिए । एक विवादित कम्पनीसँग मिलेर चलचित्र विकास बोर्डले आयोजना गरेको कार्यक्रमको औचित्य आजका दिनसम्म पनि केसीले स्पष्ट पार्न सकेका छैनन् । 

नेपाली फिल्मको हित र विकासका लागि भन्दै विकास बोर्डमा पूजा नै गरेर प्रवेश गरेका भुवन केसीको कार्यकाल सकिन अब केही महिना मात्र बाँकी छ । तर, उनले आफ्नो विग्रीएको छवि सुधार्न भन्दा पनि यस्तै विवादित कार्यक्रममा सहभागिता जनाएर झनै छवि बिगारिरहेका छन् । 

विकास बोर्डमा फिल्मको बारेमा बुझेको मान्छे पुगेर मात्र पनि हुँदैन भन्ने उदाहरण भुवन केसी बनेका छन् ।