निश्चल र स्वस्तिमालाई कस्तो लाग्यो ‘हात्तीछाप’ ?

प्रिमियरमा निम्तो पुगेर पनि उपस्थित हुन नसकेका नायिका स्वस्तिमा खड्का र निर्देशक निश्चल बस्नेत शनिबार राती काठमाडौंको बीग मुभिजमा ‘हात्तीछाप’ हेर्न पुगे । 

फिल्म हेरेपछि नायिका स्वस्तिमा खड्काले मिडियासँग भनिन्–‘फिल्म हेर्नु अगाडि भन्दा अहिले हेरेपछि झनै उत्साह बढेको छ । फिल्म हेरेपछि हात्तीछाप भनेको के रहेछ भन्ने बुझ्ने मौका पाएँ । यही कुरा नै फिल्ममा रमाइलो रहेछ ।’

यस्तै, निर्देशक निश्चल बस्नेतले ‘हात्तीछाप’लाई मनोरञ्जनात्मक फिल्म भनेका छन् । उनले भने–‘मलाई फिल्म ठिकै लाग्यो । अझै राम्रो हुन सक्थ्यो भन्ने लागेको छ । तर, फिल्म निकै रमाइलो छ । हेर्दा ठाउँ ठाउँमा हँसाइरहेको थियो ।’

निश्चलले फिल्मको शीर्षक अनुसार कथावस्तु सार्थक भएको पनि बताए । स्वस्तिमाले दयाहाङ राई र सौगात मल्लको काम गर्ने तरिका फरक फरक रहेको बताइन् । भनिन्–‘सौगात दाइले जहिले पनि केही फरक गर्ने कोशिश गर्नुहुन्छ । दया दाइको अभिनय अर्गानिक छ । हामी भने सौगात दाइको क्यारेक्टरमा निकै रमाइलो गरिरहेका थियौँ । तर, फिल्मको कथावस्तु दया दाइले अगाडि बढाउनु भएको छ ।’

स्वस्तिमाले नायिका उपासना सिंह ठकुरीको कामको पनि प्रशंसा गरिन् । फिल्म भित्रको राजनीतिक विषयको बारेमा निश्चलले भने–‘नेपालको राजनीतिक अवस्था नै डामाडोल रहेकाले हरेक फिल्ममा यसको मुद्दा उठ्नु स्वाभाविक नै हो । यसमा पनि आफ्नै तरिकाले राजनीतिलाई देखाइएको छ । फिल्म मनोरञ्जनात्मक छ । दर्शकले हेर्नुभयो भने पक्कै पनि रमाइलो मान्नु हुन्छ होला ।’

किरण नेपालीको प्रस्तुतिमा सिमोस सुनुवारको निर्देशन रहेको यो फिल्म शुक्रबारदेखि नेपाल र विदेशका रिलिज भइरहेको छ ।