कस्तो रह्यो ‘दयारानी’को विकेन्ड कलेक्शन ?
शुक्रबार र शनिबार फिल्म ‘दयारानी’ले उत्साहजनक व्यापार गरेको यसको निर्माणपक्षले बताएको छ । माओत्से गुरुङको निर्देशनमा तयार भएको यो फिल्मले विशेषगरि, मोफसलका केही शहरमा राम्रो कमाई गरेको देखिएको छ ।
पोखरामा फिल्मको व्यापार उच्च छ । गुरुङ संस्कृतिको कथामा निर्माण भएको र माओत्से गुरुङको गृह नगर रहेकाले पनि पोखराले यो फिल्मको व्यापारमा उच्च योगदान गरेको छ ।
फिल्मका वितरक प्रचण्डमान श्रेष्ठले शुक्रबार एक स्टाटस लेख्दै देशैभर फिल्मले ८० प्रतिशत माथिको अकुपेन्सीमा व्यापार गरेको उल्लेख गरेका थिए ।
१ घन्टा ४० मिनेट लामो यो फिल्मले नि सन्तान दम्पतीको कथा भन्छ । फिल्ममा विशेषगरि, विजय बरालको कमेडीलाई पनि दर्शकले रुचाएका छन् ।
यो फिल्ममा दयाहाङ राई र दिया पुन श्रीमान्–श्रीमतीको भूमिकामा देखिएका छन् ।
बाँसुरी फिल्मस् र माओत्से गुरुङ फिल्मसको प्रस्तुतिमा यो फिल्म निर्माण भएको हो । फिल्मको आजदेखिको व्यापार महत्वपूर्ण हुने देखिएको छ ।
प्रतिक्रिया