सन्तानको प्रश्नले केकीलाई हैरानी

नायिका केकी अधिकारीलाई पछिल्लो समय सोधिने प्रश्न हो, ‘सन्तान कहिले जन्माउने’ ? ‘सन्तानका लागि दबाब त आएको छैन नी ?’

केकी भने यी प्रश्नहरूलाई विभिन्न शैलीका जवाफ दिएर टारिरहेकी छिन् । करिब २ बर्ष अगाडि प्रेमी रोहित तिवारीसँग बिहे गरेकी केकी त्यसपछि निरन्तर फिल्ममा व्यस्त भइन् । तर, अब भने उनी आफूले नै निर्माण तथा अभिनय गरेको फिल्म ‘बोक्सीको घर’को प्रचारमा व्यस्त छिन् । 

केकी अहिले भने सन्तानको प्रश्नले हैरान हुन थालेकी हुन् । बिहिबार आयोजित फिल्म ‘दयारानी’को प्रिमियरमा केकीलाई पत्रकारले सन्तानका लागि प्रेसर आएको छ कि छैन भन्दै प्रश्न गरे । यसमा केकीले भनिन्–‘मलाई सन्तानका लागि कुनै पनि दबाब आएको छैन । फेरि, प्रेसर बढेको बेलामा सन्तान जन्माउनु पनि हुँदैन । डाक्टरले पनि प्रेसर कम भएको समयमा नै सन्तान जन्माउन सल्लाह दिनुहुन्छ, होइन र ।’

केकीसँगै रहेकी अर्की नायिका प्रियंका कार्कीले भनिन्–‘प्रेसरले कहिले पनि बच्चा जन्माउनु हुँदैन ।’ प्रियंकाले सल्लाह आफैंमा एउटा प्रेसर भएको भन्दै केकीलाई कुनै पनि खालको सुझाव आफूले नदिने बताइन् । 

केकीले पनि परिवारबाट पनि आफूलाई सन्तान जन्माउनका लागि कुनै दबाब नआएको तर्क गरिन् । तर, उनले ‘बोक्सीको घर’को प्रेसर भने आफूमाथि रहेको स्विकारिन् ।