दयासँग आफ्नै फिल्मको प्रिमियरमा उपस्थित हुने समय पनि छैन

नायक दयाहाङ राइको ३ महिनाको अन्तरमा ३ फिल्म रिलिज भए । कार्तिकको २४ गते ‘दिमाग खराब’, माघको २६ गते अर्थात् आजबाट ‘हात्तीछाप र दयारानी’ रिलिज भए । 

यी तिनै वटा फिल्मको प्रिमियर शो काठमाण्डौंमा आयोजना गरियो । तर, यी तिनै वटा फिल्मको प्रिमियरमा दया उपस्थित भएनन् । फिल्म ‘दिमाग खराब’को प्रिमियरदेखि कुनै पनि मिडिया अन्तरक्रिया कार्यक्रममा दया उपस्थित भएनन् । तर, उनी फिल्मले ५१ दिन मनाएपछि भने उपस्थित भएर खुशी भएका थिए । 

फिल्म ‘हात्तीछाप’को मंगलबार प्रिमियर भयो । यो प्रिमियरमा पनि दयाको उपस्थिति रहेन । फिल्म ‘मनसरा’को छायांकनमा रहेकाले दया उपस्थित हुन नसकेको बताइएको छ । तर, फिल्म ‘सिटामोल’को छायांकनमा व्यस्त भएपनि नायक सौगात मल्ल र नायिका बेनिशा हमाल प्रिमियरमा उपस्थित भएका थिए । 

यस्तै, बिहिबार बेलुकी फिल्म ‘दयारानी’ फिल्मको प्रिमियर काठमाडौंमा आयोजना भयो । यो फिल्मको प्रिमियरमा पनि दया उपस्थित भएनन् । बरु, यो फिल्म भन्दा बाहिरका केही कलाकार प्रिमियरमा उपस्थित भए र शुभकामना दिए ।

दया प्रिमियरमा उपस्थित नहुँदा ‘बेहुला बीनाको बिहे’ जस्तै भएको थियो । दयाको हातमा यति धेरै फिल्म छ कि, उनीसँग आफूले अभिनय गरेको फिल्मको प्रचारका लागि पनि समय छैन । 

दयाले एउटा फिल्ममा काम गरेपछि अर्को फिल्मका लागि आफ्नो गेटअप समेत परिवर्तन गर्न भ्याएका छैनन् । अब, उनीसँग फिल्मको प्रचारदेखि प्रिमियरमा उपस्थित हुने समय नहुनु नौलो कुरा होइन ।