एमाले सचेतक गिरी भन्छन्–‘देशको अखण्डता बाहेक अरु बिषयमा सेन्सर आवश्यक छैन’
नेकपा एमालेका प्रमुख सचेतक तथा पूर्व स्वास्थ्य मन्त्री पदम गिरीले चलचित्र जाँच पास समितिले तयार पारेको नयाँ कार्यविधि पुरानो सोचबाट तयार भएको बताएका छन् । फिल्म ‘दयारानी’को प्रिमियर शोमा पुगेका गिरीले मेरो फिल्मसँग भने–‘हाम्रो समाजलाई विखण्डन गर्ने, देशको अखण्डतालाई कमजोर पार्ने खालको भयो भने सेन्सर आवश्यक छ । होइन भने अरु विषयमा सेन्सर आवश्यक छैन ।’
उनले अगाडि भने–‘सेन्सर बोर्डका मानिसहरूले पुरानो सोचले सोच्नु भएन, क्रियटिभ तरिकाले सोच्नु पर्यो । २०–५० बर्ष पुरानो सोचले अब सोचेर हुँदैन । कुनै पनि फिल्मलाई त्यसको भित्री मर्म अनुसार हेर्न सक्नुपर्छ । पुरानो सोचका अनुसार हेर्यो भने त्यो फिल्मले अहिलेको समाजलाई प्रतिनिधित्व गर्न सक्दैन । देशको अखण्डताको बारेमा केही कुरा उठ्यो भने सेन्सरसिप आवश्यक छ, होइन भने कुनै पनि कुरामा सेन्सर गर्न आवश्यक छ जस्तो मलाई लाग्दैन ।’
चलचित्र जाँच समितिले २० बुँदे कार्यविधि तयार पारेपछि त्यसको चर्को विरोध भइरहेको छ । फिल्मीकर्मीले सरकारले ल्याउन लागेको कार्यविधि पारित भएको खण्डमा फिल्म नै बनाउन नसकिने बताएका छन् ।
यही बीचमा एमालेका सचेतक गिरीले सेन्सरको विषयमा नयाँ ढंगले सोच्नुपर्ने बताएका हुन् ।
प्रतिक्रिया