‘गोर्खा वारियर’ले गोर्खाली के हो र कस्ता हुन्छन् भन्ने देखाउँछ : मिलन चाम्स
फागुनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’को टिम देश दौडाहामा छ । फिल्मको बारेमा जानकारी दिने उद्देश्यले यसका निर्देशक मिलन चाम्स, नायक रितेश चाम्स र नायिका रेबिका गुरुङ देश दौडाहमा रहेका हुन् ।
फिल्मको टिमले धरान, हेटौंडा र चितवनमा पत्रकार सम्मेलनको आयोजना गरिसकेको छ । अब, आज बिहिबार बुटवलमा पत्रकार सम्मेलन गर्ने तयारीमा रहेको टिमले शुक्रबार पोखरामा फिल्म पत्रकारहरूसँग भेटघाट गर्दैछ ।
पत्रकार सम्मेलनमा निर्देशक चाम्सले भने–‘यो फिल्म गोर्खाली सेनामा आवद्ध रहेका पुर्खाहरूको मौलिक फिल्म हो । ७० बर्ष अगाडिको नेपाली मौलिक र सामाजिक कथावस्तुका साथै युद्धमा गोर्खालीहरुले देखाएको वीरताको कथावस्तु हामीले प्रस्तुत गरेका छौँ ।’
उनले, फिल्मले गोर्खाली के हो र कस्ता हुन्छन् भन्ने कथालाई फिल्ममा देखाइएको स्पष्ट पारे । यो फिल्मको छायांकन सोलुखुम्बुका पहाडी क्षेत्र, सगरमाथा, सिन्धुलीको जंगल र दरबार क्षेत्रका साथै मलेसियामा गरिएको छ ।
फिल्मकी नायिका रेबिका गुरुङले ‘गोर्खा वारियर’ उत्कृष्ट बनेको बताइन् । यो फिल्मले पुर्खाहरूको दुःख र संघर्षलाई नजिकबाट देखाएको उनको भनाई छ । पेसाले पूर्व ब्रिटिस आर्मी तथा पाइलट रहेका नायक रितेश चाम्सले यो फिल्मका लागि आफूले ३ बर्ष वर्कशप गरेको बताए ।
उनले, यो फिल्म आफ्नो ड्रिम प्रोजेक्ट रहेको पनि खुलाए । यो फिल्ममा विजय लामा, कविता आले, रिअर राई, सुरज तमु, भुवन सिंह राई, त्रिछु राई, दिग्गज खत्री लगायतको अभिनय छ ।
प्रतिक्रिया