दयामाथि ४० करोडको लगानी, ‘हात्तीछाप र दयारानी’ चल्न किन आवश्यक छ ?

नायक दयाहाङ राइको टाउको मात्र राख्न पाए पनि निर्माताहरूलाई पुग्ने अवस्था छ । ओभरसिजका वितरकदेखि डिजिटल राइट्स खरिद गर्ने कम्पनीका मालिकहरु पनि दयाको टाउको देखेपछि फिल्म किन्न तयार हुन्छन् । यसैले, निर्माताहरूलाई दयाहाङ राइको एक झलक भएपनि फिल्ममा राख्नुपर्ने अवस्था छ । 

दयाको हातमा २० भन्दा माथि फिल्म छन् । एक कार्यक्रममा नै दयाले आफूसँग करिब २२ वटा फिल्म रहेको र एक बर्ष नयाँ फिल्म साइन नगर्ने बताएका थिए । कतिपय निर्माता दयाको समय कुरेर बसिरहेका छन् भने कतिपयले दयाले साइन मात्र गरिदिए हुन्थ्यो भनेर उनलाई पछ्याइरहेका छन् । 

यही बीचमा दयाको नै मुख्य भूमिका रहेको फिल्म भोलीबाट रिलिज हुँदैछन् । दयाको काँधमा ‘हात्तीछाप र दयारानी’ चलाउनुपर्ने अभिभारा छ । यी दुवै फिल्मको ओपनिङ बक्स अफिसको श्रेय दयालाई जाने निश्चित छ । 

यी दुवै फिल्मको व्यापार सुखद भएको खण्डमा दयाका आगामी फिल्मको व्यापार पनि सुखद हुन्छ भनेर धेरै निर्माता निदाउन सक्छन् । तर, यसो नभएको खण्डमा धेरैलाई छटपटी हुने निश्चित छ । 

दयाको लागि अहिले बजारमा ४० करोड भन्दा बढी लगानी गरिएको छ र गर्ने तयारी गरिएको छ । एउटै नायकमाथि सिंगो फिल्म क्षेत्र नै पछि लागेको राजेश हमालपछि दया नै होलान् । 

दयाहाङ राईलाई पनि धेरै फिल्म खेलेको आभास भइरहेको छ । तर, उनी रोकिने मुडमा छैनन् । भोलीबाट रिलिजमा आउन लागेका दुई फिल्म दयाका लागि महत्वपूर्ण छन् ।