‘सतीदेवी’लाई ‘उत्कृष्ट फिल्म’को उपाधि

चितवनको पर्यटकिय स्थल सौराहामा आयोजना भएको ‘दक्षिण एसियाली चलचित्र महोत्सव २०८०’मा सर्वोत्कृष्ट फिल्मको उपाधि ‘सतीदेवी’ले प्राप्त गरेको छ । क्याराभान नेपालको आयोजनामा माघको १८ गतेदेखि २२ गतेसम्म यो महोत्सव आयोजना भएको थियो । फिल्म ‘सतीदेवी’ले सर्वोत्कृष्ट फिल्मको उपाधिसँगै नगद ५० हजार पुरस्कार पनि प्राप्त गरेको छ ।

महोत्सवमा फिल्म हेरेका अधिकांशले यसको कथावस्तुको प्रशंसा गरेका थिए । यस्तै, शिव रेग्मी सर्वोत्कृष्ट फिल्म निर्देशकको उपाधि पनि यही फिल्मका निर्देशक लक्ष्मण सुवेदीले प्राप्त गरेका छन् । स्वर्गीय फिल्म निर्देशक शिव रेग्मीकी धर्मपत्नी ज्ञानु रेग्मी र छोरा डाक्टर अभिषेक रेग्मीले पिताको नाममा हरेक बर्ष प्रदान गर्ने गरि ५० हजार रूपैयाँ नगद सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।

यो महोत्सवमा उत्कृष्ट वृत्तचित्रको उपाधि डाक्टर सचिन घिमिरे र गौरव केसीले निर्देशन गरेको ‘म अलप हुन चाहन्छु’ले प्राप्त गरेको छ ।

उत्कृष्ट लघु चलचित्रको उपाधि प्रदीप  पोखरेलले निर्देशन गरेको ‘स्नो लियो पार्ड’ले प्राप्त गर्यो । उत्कृष्ट सम्पादकको उपाधि भने ‘नांगो गाउँ’बाट बनिष शाहले प्राप्त गरे ।

उत्कृष्ट छायांकारको उपाधि ‘बिच्छेद’बाट संकल्प भुजेलले प्राप्त गर्दै गर्दा यसै फिल्मबाट उत्कृष्ट लेखन विधामा सत्यराज चौलागाईं र मुकुन भुसालले उपाधि प्राप्त गरे । यो महोत्सवमा दक्षिण एसियाली देशका ४० भन्दा बढी फिल्मले सहभागिता जनाएका थिए ।