एक्सन फिल्म खेल्दै प्रियंका, आफै लेख्दैछिन् पटकथा

नायिका प्रियंका कार्कीले आफूले आउँदो बर्ष दुई वटा फिल्ममा काम गर्न लागेको बताएकी छिन् । धुम्बाराहीमा संचालनमा आएको मनोरञ्जन पार्क ‘उप्स’को उद्घाटन गर्न आफ्नी छोरीसँग पुगेकी प्रियंकाले अर्को बर्ष दुई वटा फिल्म खेल्ने र एउटाको पटकथा आफैले लेखिरहेको उल्लेख गरेकी हुन् । 

प्रियंकाले मिडियाकर्मीसँग कुराकानी गर्दै भनिन्–‘आउँदो बर्ष म २ वटा फिल्ममा काम गर्दैछु । यसमध्ये एउटा फिल्म आफ्नै होम प्रोडक्शनबाट बन्नेछ । फिल्मलाई एक्सन र  थ्रीलर कथामा तयार गर्ने हाम्रो कोशिश रहनेछ । यसका लागि तयारी धमाधम चलिरहेको छ ।’

फिल्मको पटकथा पनि आफैले लेखिरहेको प्रियंकाको भनाई थियो । प्रियंकाका अनुसार, यो फिल्मका लागि उनले एक्सन पनि सिकिरहेकी छिन् । 

प्रियंकाले निर्माण गरेको ‘वसन्त’ नाम छोटो फिल्म रिलिजमा आइसकेको छ । अब, उनले फिचर फिल्मको पनि निर्माण गर्ने तयारी थालेकी हुन् । 

केही बर्ष अगाडि सम्म नम्बर १ नायिकाको रुपमा गनिएकी प्रियंकाको हातमा अहिले फिल्म खासै छैन । यसैले, अब उनी होम प्रोडक्शनको फिल्म बनाएर आफ्नो करिअर अगाडि बढाउने तयारीमा छिन् ।