आज देशभरका हल बन्द, तर किन ?
नेपाल चलचित्र संघले आज देशभरका हल बन्द गर्ने घोषणा गरेको छ । संघको घोषणासँगै आज देशभरका कुनै पनि हल संचालनमा आएका छैनन् । अधिकांश मल्टिप्लेक्सले आफ्नो अनलाइनमा नै आज हल बन्द भएको जानकारी दर्शकलाई दिएका छन् ।
विशेषगरि, नेपाल सरकारले लगाएको अव्यवहारिक करका कारण व्यवसाय नै संचालन गर्न नसक्ने अवस्था आएको भन्दै संघले देशभरका हल आज बन्द गर्ने निर्णय गरेको हो । संघले साङ्केतिक विरोध स्वरूप आज हल बन्द गर्ने निर्णय गरेको र सरकारले सुनुवाइ नगरेको खण्डमा अन्य विरोधका कार्यक्रमहरू सार्वजनिक गर्दै जाने उल्लेख गरेको छ ।
फिल्म क्षेत्रलाई विभिन्न करहरू तिर्न वाध्य पारिएको बताउँदै संघका महासचिव नरेन्द्र महर्जनले भने–‘मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरू नलगाउने संहिता विपरीत फिल्म विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरूका कारण फिल्म व्यवसाय नै संचालन गर्न सकिने अवस्था छैन ।’
संघले मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रुपमा आज देशभरका हल बन्द गर्ने निर्णय गरिएको बताएको छ । हल संचालकहरुले गरेको हल बन्दको फिल्म ‘हात्तीछाप’को निर्माणपक्षले पनि समर्थन गरेको छ । यसैले, आज हुने भनिएको फिल्मको प्रिमियर भोलि गरिने फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए । यस्तै, अन्य फिल्मीकर्मीले पनि हल बन्दको समर्थन गरेका छन् ।
हल बन्द भएपछि जनवरी २५ तारिखबाट रिलिजमा आएको हिन्दी फिल्म ‘फाइटर’को व्यापार केही प्रभावित बनेको छ ।
प्रतिक्रिया