दयाहाङले कतिवटा फिल्म खेल्नुपर्छ ?

अशेष अधिकारी 

‘भूठान’ फिल्मको छायाङ्कनका लागि अमेरिका पुगेका अभिनेता दयाहाङ राई बुधबार काठमाडौं ओर्लिए । बुधबार मात्र काठमाडौं आएका उनी आज माघ २६ गते बाट रिलिजमा आउन लागेका दुई फिल्मको प्रचारमा बिहिबार नै सहभागी भए । फिल्म ‘दयारानी’को प्रेस साक्षात्कारका लागि १२ बजे बोलाइएको समयमा उपस्थिति भएका दया सोही दिन बेलुकी ५ बजे अर्को फिल्म ‘हात्तीछाप’का लागि मिडियाकर्मी सँग कुराकानी गर्न तयार भए ।

त्यसको भोलीपल्ट अर्थात शुक्रबारदेखि उनी फिल्म ‘मनसरा’को छायांकनमा व्यस्त छन् । यो बिचमा उनले एक टेलिभिजन अन्तरवार्तामा पनि कुराकानी गर्न भ्याएका छन् । यो फिल्मको छायांकन सक्ने वित्तिकै उनले फागुनको २५ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘रंगेली’को बाँकी रहेको केही छायांकन सक्नुपर्नेछ । अर्कोतिर, उनलाई फिल्म ‘घर ज्वाँई’को टिमले पर्खिरहेको छ । 

आजको मितिमा दया सबैभन्दा व्यस्त कलाकार हुन् । रिलिज हुने क्रमका र सुटिङका लागि सिनेमाको लाइन उनको अघिपछि छ । उनी अहिलेका सर्वाधिक बिकाउ स्टार हुन् । यस वर्षको अन्तसम्म उनका ११ सिनेमा रिलिज भइसक्नेछन् भने अर्को वर्ष पनि सम्भवत यति नै संख्यामा उनका सिनेमाहरु रिलिज हुनेछन्।

उनको यो दैनिकीको आलोचना पनि हुने गरेको छ। विशेषगरि धेरै फिल्म खेलेको भनेर उनको आलोचना भइरहेको छ ।

कुनै समय नेपाली सिने बजारले दयालाई जस्तैगरी राजेश हमाललाई खोज्यो । यस्तै, कुनै समय भुवन केसी, शिव श्रेष्ठ, विराज भट्ट, निखिल उप्रेती, दिलिप रायमाझी, रमेश उप्रेती, उत्तम प्रधान, रेखा थापा आदिलाई खोज्यो ।

उनीहरु हट केक जस्ता थिए । हातहातै उनीहरुको फिल्म बिक्री हुन्थे । आज त्यही अवस्था दयाको छ ।


वि.सं २०६६ सालमा ‘मेरो एउटा साथी छ’ मा सानो रोलबाट दयाले नेपाली फिल्मको रंगीन दुनियाँमा प्रवेश पाए । नाटकको नेपथ्यबाट आएका उनी राम्रा कलाकार थिए, त्यसमा कुनै शंका थिएन । तर उनको रुपरंगले सिनेमाको लिड हिरोको कल्पनासम्म हुन्थेन । त्यसका लागि फरक मानकहरु स्थापित थिए । ती मानक उनका लागि रातो झण्डा थिए । 
फिल्मको धार परिवर्तनको वैचारिक बहसले विस्तारै फिल्मकै रुपमा यात्रा सुरु गरेपछि भने दया स्वयमले कल्पना नगरेका दृश्यहरु नेपाली सिने जगतमा वास्तविक हुन थाले । फिल्ममा दयाका अनुहारहरु प्रमुख भूमिकामा उदाउन सुरु गरे ।

दयाले त्यसपछि नेपाली राजनीतिक इतिहासको आधुनिक कालको सबैभन्दा ठूलो घटना ‘दासढुङ्गा’ घटनामाथि बनेको मनोज पंडित निर्देशित सिनेमामा चालक अमर लामाको भूमिकामा अभिनय गरे । उनको अभिनयले तारिफप ायो । यसपछि पनि उनका लागि फुक्ने ठाउँ सिनेमा भन्दा पनि रंगमंच नै थियो, त्यसैले उनको व्यस्तता पनि त्यतै नै बढि थियो।


दयाले सिनेमामा डेब्यू गरेको ३ वर्षपछि लगालग नेपाली सिनेमा वक्सअफिसमा असफल हुन थाले । एकथरी जो लामो समय आफूलाई यो क्षेत्रको  मसिहा र नेता ठान्थे, उनीहरुले नेपाली सिनेमामा संकटकाल लगाउनुपर्छ, भन्दै राग अलाप्न थाले । 

यही कर्कश रागबीच सिनेमा हलमा एउटा सिनेमा लाग्‍यो ‘लुट’ । जसलाई अस्ट्रेलियाबाट फर्केको एउटा ठिटोले बनाएको थियो । त्यो ठिटो थियो, निश्चल बस्नेत ।

जसै सिनेमा रिलिज भयो त्यसले नेपाली सिनेमा निर्माण र प्रस्तुति शैलीको  पुरानो फर्मूलालाई ब्रेक लगाइदियो र नयाँ विकल्प मेकरलाई दियो । सिनेमाका पुराना स्कुलिङको सट्टा परिमार्जित, परिस्कृत र प्रगतिशिल बाटो नै नेपाली सिनेमाको पुनस्जीवन हो भनेर देखाइदियो । यसले अनुहार भन्दा पनि अभिनय सुन्दर हुनुपर्ने मानक स्थापित गर्‍यो ।

दयाले ‘लुट’ सिनेमामा निर्वाह गरेको ‘गोफ्ले’ चरित्रले नेपाली दर्शकमाझ परिचय स्थापित गर्‍यो । उनी चिनिने अभिनेता बने । लुट पछि उनले ५ वर्षको अवधिमा ८ वटा सिनेमा खेले जसमा पहिलोपटक ‘झोले’ सिनेमामा सोलो हिरो बने । सिनेमाले ठीकठाक व्यापार गर्‍यो । यतिबेलासम्म उनी खोजिने अभिनेता थिए तर नभई नहुने अभिनेता बनिसकेका थिएनन् । उनको व्यस्तताले गति भने लिन थालेको थियो ।


वि.सं २०७१ साल वैशाख १२ गते शुक्रबारको दिन एउटा सिनेमा रिलिज भयो । रिलिज अघि गुरुल्ला सिनेमा मेकिङ भनेर मिडियामा खुबै स्पेस पाएको यो सिनेमाको नाम थियो ‘कबड्डी’। मामाचेली(फूपुचेलीमाथि हक लाग्ने परिदृश्यमा मामाकी छोरीसँग एकोहोरो प्रेममा परेपछि विवाह गर्न एकोहोरो भएर लागेको काजीको भुमिकामा देखिएका दयालाई यो सिनेमाले मस्ट वान्टेड अभिनेता हुने दौडमा होमिदियो।

सिनेमाले आफ्नो अर्गानिक विषयवस्तुसँगै दयाहाङको अभिनयका लागि तारिफ बटुल्यो । नेपाली वक्सअफिसमा आफूलाई सफल सिनेमाका रुपमा दर्ज गरायो । त्यसपछि दयाको लोकप्रियता बढ्यो। उनी स्टार हुने बाटोमा लागे।

त्यसपछि यसका सिरिजसँगै आएका अन्य सिनेमाले उनलाई नेपाली सिनेमाको व्यस्त अभिनेता बनायो ।

अहिले सिनेमामा दया आएको १४ वर्ष भइसकेको छ। यो वर्षसम्म उनी अभिनित सिनेमाको संख्या ५५ पुग्ने छ ।

यस हिसाबले हेर्दा बितेका १४ वर्षमा औषतमा उनका चार सिनेमा प्रत्येक वर्ष रिलिज भएका छन् । उनी पछिल्लो समय नेपालमा धेरै सिनेमा खेल्ने अभिनेता बनेका छन् । योसँगै उनको आलोचना पनि सुरु हुन थालेको छ । 

निर्देशक नविन सुब्बा जो नेपाली सिनेमाको कथ्यशैली परिवर्तन हुनुपर्छ भन्ने आवाजलाई बुलन्द पार्दै आइरहेका छन् । उनले भटाभट दयाको फिल्म खेल्ने शैलीले उनमा राजेश हमालको पुनरावृत्ति भएको आरोप लगाए ।

दयाले कम र गुणस्तरिय सिनेमा खेल्नुपर्छ । बजारसँगै बहकिनुहुन्नु भन्ने उनको विचार रहने गरेको छ ।

उनको यो विचार भएपनि सिनेमा बजार पैसाको ब्रिफकेस बोकेर उनीकै पछि कुदेको छ । नविनले आरोप लगाएपनि दयाले अभिनेताको छाप छोड्ने सिनेमाहरुको सूचि राम्रै बनाएका छन् ।

‘दासढुंगा, हाईवे, तान्द्रो, उमा। सेतो सूर्य’ आदि उनका केही गुणस्तरीय कामका लागि सम्झिने सिनेमा हुन् । योसको पछिल्लो उपक्रममा रिलिज उन्मुख ‘गाउँ आएको बाटो’लाई राख्न सकिन्छ । विदेशी सिनेमा महोत्सवहरुमा रुचाइएको यो सिनेमा आगामी वर्ष रिलिज हुँदैछ । यसका निर्देशक दयाका कटु आलोचक नविन सुब्बा नै हुन् । त्यसैले धेरैलाई नबिनले दयालाई कस्तो काम गराए भन्नेमा उत्सुक्ता रहेको छ ।

यो सिनेमाको घोषणामा स्वयं नविनले दयालाई फरक देखाउन काम गरेको र दया आफ्नो निर्देशनमा त्यस्तै बन्ने आशा व्यक्त गरेका थिए । सिनेमा बनेपछि उनी दयाको कामबाट सन्तुष्ट छन् ।

दयाले नविनको आलोचनालाई सहर्ष स्वीकार्ने गरेका छन्।

‘नवीन दाइ र छिरिङ रितार शेर्पाले त्यो समय त्यसखालका सिनेमा नबनाउनु भएको भए अभिनेता भएर म आज चलचित्रमा काम गरिरहेको हुने थिइनँ, एक साक्षात्कारमा दयाले भनेका थिए।

नवीनले ‘नुमाफुङ र छिरिङले मुकुण्डो’ बाट सिनेमाको कथा कुनै फर्मूला वा क्षेत्र र वर्गमा मात्र सिमित नहुने गतिलो दउहरण पेस गरेका थिए । दयाले उनीहरुका फिल्म हेरेर नै आफ्नो समुदाय र आफूजस्ता मान्छेको पनि कथा हुने रहेछ भनेर अभिनय गर्ने रहर पूरा गर्न रंगकर्ममा प्रवेश गरेको भन्ने गरेका छन् ।

आज त्यो धार यो धार भन्ने सीमारेखा नेपाली सिनेमाबाट मेटिइसकेको छ।

आज दयाले हासिल गरेको लोकप्रियता, व्यस्तता उनले कहिल्यै कल्पना गरेका थिएनन् । जसरी आज दिनानुदिन उनले गर्ने सिनेमाको संख्या बढिरहेको छ, यसले केही प्रश्न उनीमाथी तेर्सिएका छन् । आज नेपाली सिनेजगतमा दयाको प्रतिष्पर्धा दयासँगै छ । कहिलेकाही वक्सअफिसमा उनी आफैसँग भिडिरहेका हुन्छन् । अर्को वर्ष यो भिडन्तको संख्या बढ्ने अनुमान गर्न सकिन्छ । 

उनको आलोचना गर्नेहरुको उदेश्य दयाले लिक छाडेर आफूलाई नखियाउन भन्ने हो। 

यसै मेसोमा उनले धेरै काम गरेका निर्देशक रामबाबु गुरुङलाई एउटा कलाकारले एक वर्षमा कतिवटा फिल्म खेल्नुपर्छ ?  धेरै सिनेमा किन खेल्नुहुन्न ? कतिवटा सिनेमा खेल्नुपर्छ भनेर कसले निर्धारण गर्नुपर्छ ? कुनै कलाकारले धेरै सिनेमा खेलेर के हुन्छ ? थोरै सिनेमा खेलेर के हुन्छ ? भनेर सोधेका थियौं ।

रामबाबु हाँस्दै भन्छन्–‘यो निर्धारण गर्ने त कलाकार आफैले हो । आफ्नो प्रोफेसन भएकाले आफैले ध्यान दिने कुरा हो । माग अनुसार हुन्छ सबै, के गर्ने कति गर्ने । कति कुरा सम्बन्धले निर्धारण गर्छ भने कति व्यवसायिक पाटोले निर्धारण गर्छ ।’ गुरुङले अगाडि भने–‘ तर सबै कलाकारलाई राम्रो काम गरौं, व्यवस्थित ढंगले गरौं नै भन्ने हुन्छ । त्यसमा आफूलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा त आफैमा निर्भर हुने कुरा हो नी ।’

अहिले दया एकपछि अर्को गरी आधादर्जन सिनेमाको काममा व्यस्त छन्।

रामबाबुको जस्तै समान धारणा फिल्म समीक्षक यज्ञश पण्डितको पनि छ । उनी कलाकारले यति फिल्म खेल्नुपर्छ भन्ने बिषयमा कुनै नियम नबनेको बताउँछन् । कलाकार आफैले यो बिषयमा निर्धारण गर्नुपर्ने उनको धारणा छ । 

‘यति खेल्नुपर्छ, यति वटा भनेर कही कतै पनि निर्धारण गरिएको मलाई थाहा छैन । तर यो कुरा खाली कलाकारमा मात्र भन्दा पनि फिल्म मेकरमा पनि भर पर्ने कुरा हो । उसको व्यस्तता, उसले कति गर्नसक्छ, कति समय छ र कति दिनसक्छ उसको कुरा हो ।’ पण्डितले भने । 

कलाकारले कतिवटा फिल्म खेल्यो भन्दा पनि कस्तो फिल्म खेल्यो भन्ने कुरा प्रधान हुने उनको बुझाइ छ । यसका लागि कलाकार एक्लैलाई मात्र दोष दिन नमिल्ने उनको तर्क छ । 

‘एउटा कलाकारले त उसले सक्दासम्म खेल्छु भनेर भन्न पाउँला रे । तर असर पर्दा त मेकरको प्रोजेक्टलाई हो । अभिनेताका हिसाबले समय व्यवस्थापन गरेर आफ्नो काम गर्न सक्छु भनेर खेल्नु एउटा कुरा हो । समय व्यवस्थापन उसको जिम्मेवारी हो । त्यसले उसको काममा कति र कस्तो असर पर्छ उसले विचार गर्नुपर्छ, पण्डितले भने–‘तर सँगसँगै एक्टरको मात्र दोष देख्दिन म । मेकरहरुले पनि विचार गर्ने कुरा हो । कुनै पात्रमा काम गर्न एउटा अभिनेतालाई कति समय चाहिन्छ, उसलाई आराम कति चाहिन्छ, प्रमोसनमा जान कति समय चाहिन्छ मेकरहरुले हिसाब गर्नुपर्छ । दयाले आफूले सक्ने भएरै नै गरिरहेको हुनसक्छ ।’

यही प्रश्नमा दयाले धेरै फिल्म खेलेकोमा कटु आलोचना गर्ने नविन सुब्बाले संख्या तय गर्नुपर्ने आवश्यक्ता नभएको र यसमा दया मात्र होइन अन्य कलाकारले पनि लगालग सिनेमा खेलिरहेको बताए । उनले दयालाई कम सिनेमा खेल्ने सुझाव दिने गरेको र पैसाकै लागि सिनेमाहरु लगालग गरिएको हो भने बलिउडका कलाकारको शैलीमा काम गर्न सुझाव दिने गरेको बताए । 
उनले भने–‘अन्य कलाकारहरुसँगै मैले दयालाई पनि दिइरहेको सुझाव के हो भने तिमीलाई पैसाकै आवश्यक्ता हो भने ठूलो पैसा लिए भो, सेलेबल छौं, आफूलाई केन्द्रमा राखेर स्क्रिप्ट बनाउन लगाउ, जसरी बलिउडमा कलाकारले गर्ने गरेका छन् ।’

तर उनी अहिले नेपाली सिने उद्योग दयाको पछि दौडिरहेको बताउँछन्।  

उद्योगलाई दया नै चाहिने । दया भयो भने निर्माताले पैसा हाल्ने तर नहाल्ने छ रे । त्यो सबैको मन राखेर हुँदैन । मैले अस्ति डाटा हेरेको थिएँ, दयाको मात्र होइन सौगात, विपिन सबैको डाटा उस्तै हो । उनले भने–‘मैले सबै कलाकारलाई भन्ने गरेको के हो भने थोरै फिल्म खेलेर  चार्ज हाइ गर्‍यो भने हुन्छ नि त । होइन भने यसरी काम गरिराख्ने हो भने नेपाली सिनेमाको अभिनयलाई त माथि उठाउने काम त गर्दैन । थोरै खेलेर त्यसको तयारी गर्ने समय लिएर त्यो बापत राम्रो पारिश्रमिक लिए भयो नि त ।’

उनले नेपाली सिनेमाले २०(२२ करोडको ग्रस कमाइ गरिरहेको प्रसंग उल्लेख गर्दै दया जस्ता अभिनेताले २-४ करोड पारिश्रमिक बुझेर वर्षको दुई वटा सिनेमा गर्दा हुने सुझाव दिन्छन् ।


नेपाली फिल्म क्षेत्र अव्यवस्थित भएको बताउँदै नविनले सिनेमा गरिरहँदा  मुलत कलाकारले खेलेको फिल्मले नेपाली सिनेमा उद्योगलाई योगदान दिनुपर्ने बताउँछन् ।

‘भोलि गएर २० वर्षपछि  अब यिनीहरुको काम गर्ने समय अब ८(१० वर्ष होला, त्यो समयपछि फर्केर हेर्दा उनीहरुको हातमा सम्झनायोग्य सिनेमाहरु छैन भने के गर्ने । हातमा शुन्य भयो भने त राम्रो होइन । चल्न त एक जमानामा राजेश हमाल, निखिल उप्रेती, विराज भट्ट सबैको गज्जब थियो नि तर मैले सात तलाबाट हाम फाले भन्ने बाहेकको अर्को कुने उपलब्धी छ र ?  कलाकारले यो कुरा याद गर्नुपर्छ । फिल्म उद्योगलाई गाइड गर्ने बाटो उनीहरुले खन्नुपर्यो, बलिउडमा हामीले त्यस्तो देख्छौ तर हामी कहाँ खै ?’ उनले भने।

दया स्वयं यी कुराहरुसँग जानकार छन् तर यति हुँदाहुँदै पनि उनले यसलाई नियन्त्रणमा गर्न सकिरहेका छैनन् । स्वयं दया यस बारेमा विचार गरिरहेका छन् । उनी सिनेमा कम गर्ने प्रयासमा छन् । उनका सिनेमाको संख्या भन्दा पनि गुणस्तरमा ध्यान दिने तयारीमा छन् । यसबारेमा हामीले उनीसँग एउटा साक्षात्कार गरेका छौं, जसलाई अर्को भागमा प्रस्तुत गर्नेछौं ।