‘दयारानी’का निर्देशक भन्छन्–‘अहंकारी पुरुषको मनोविज्ञानमा फिल्म बनेको छ’
माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘दयारानी’को ट्रेलर र टिजरले पाएको प्रतिक्रियाबाट निर्देशक माओत्से गुरुङको अनुहारमा खुशी थपिएको छ । लाहुरे परम्पराको पारिवारिक विरासत नसमातेर अभिनयमा होमिएका गुरुङ यही फिल्मबाट निर्देशक बनेका हुन् । फिल्ममा दयाहाङ राई र दिया पुनको जोडीमार्फत उनले समाजको कथालाई भनेका छन् ।
यो फिल्ममा आफूले हाँस्यरसका माध्यमबाट समाजका अहंकारी पुरुषहरूमाथि प्रश्न खडा गरेको बताए । उनले भने–‘यो फिल्मले एउटा अहंकारी पुरुषको मनोविज्ञान प्रस्तुत गर्छ । हाम्रो समाजमा केही पुरुषहरू यस्ता छन्, जसले आफ्नो कमजोरीको दोष पनि अरूलाई लगाउँछन् । यो फिल्मले जीवनको अन्तिमसम्म पनि आफ्नो कमजोरीलाई आत्मसाथ गर्न नसक्ने पुरुषको मनोवृत्तिलाई प्रस्तुत गर्दछ ।’
यो फिल्मले समाजमा अझै पनि पितृ सत्ता हाबी छ भनेर देखाएको गुरुङले बताए । यो फिल्म गुरुङले पाँच बर्ष अगाडि नै तयार पारेका हुन् । तर, पर्दामा हेर्दा आज पनि यो कथा ताजा नै लाग्ने उनको दाबी छ । गुरुङले फिल्मको सिक्वेलका लागि आफूले कथा लेखिसकेको समेत बताए । निर्माताले हरियो संकेत दिने हो भने एक बर्ष भित्रै सिक्वेल तयार हुने उनको भनाई छ ।
देश विदेशका केही दर्शकले च्यारेटी र विशेष शोमा फिल्म हेरेको भन्दै उनले राम्रो प्रतिक्रिया पाएको बताए । अब, दर्शकबाट आउने प्रतिक्रियाले नै आफू कसरी अगाडि बढ्ने भन्ने बारेमा तय हुने उनको तर्क थियो ।
प्रतिक्रिया