८० देखि ९० प्रतिशत फिल्म छाडेको छुः दयाहाङ राई
नायक दयाहाङ राईले अबको एक बर्ष नयाँ फिल्म साइन नगर्ने घोषणा बिहिबार गरे । उनले, आफ्नो हातमा करिब दुई दर्जन फिल्म रहेको बताउँदै अब नयाँ फिल्म एक बर्ष साइन नगरेको दाबी गरेका हुन् । तर, दयाले यसो भन्दै गर्दा आएका थुप्रै अफरहरूलाई अस्विकार गरेको पनि बताएका छन् ।
अहिलेसम्म कति फिल्म छाड्नुभयो होला भन्ने पत्रकारको प्रश्नमा दयाले भने–‘सत्य कुरा भन्ने हो भने मैले अफर आएकामध्ये ८० देखि ९० प्रतिशत फिल्म छाडेको छु ।’
माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को विषयमा कुराकानी गर्ने क्रममा दयाले आफूले धेरै फिल्म गरेको स्विकार पनि गरेका छन् । तर, यसो भन्दै गर्दा उनले काम गर्ने तरिका बदलेको पनि बताए ।
उनले भने–‘पहिले पहिले मैले एउटा फिल्ममा काम गरेपछि अर्को फिल्मको छायांकन सुरु गर्न २–३ महिना लगाउनुपर्छ भन्ने सोच राख्थेँ । किनकी, एउटा क्यारेक्टरबाट अर्कोमा जान तयारी गर्नुपर्छ भन्ने लाग्थ्यो । तर, यही कुरालाई अब नयाँ तरिकाले कसरी गर्न सकिन्छ भन्ने पनि सोच्न थालेँ । यसपछि, एउटाको काम सक्ने वित्तिकै अर्काको स्विच अन कसरी गर्ने भन्ने विषयमा उपाय खोजेँ । अहिले सोही उपाय अनुसार काम गरिरहेको छु ।’
दयाले नेपाली फिल्मलाई विश्व बजारमा पुर्याउन आवश्यक रहेको पनि बताए । यसका लागि पनि आफूहरूले काम गरिरहेको उनले सुनाए । भने–‘२०–२५ बर्ष लामो मेरो करिअरमा बल्ल म अभिनित ३ वटा फिल्म विश्व बजारमा पुगेका छन् । यो खुशीको कुरा हो । यसैले, अझै धेरै गर्न बाँकी छ ।’
दयाले नेपाली फिल्मले डायस्पोरामा पनि बलियो उपस्थिती जनाउन थालेको भन्दै खुशी व्यक्त गरे ।
प्रतिक्रिया