सर्लाहीमा ‘मेयर’ खगेन्द्र

निर्देशक दीपेन्द्र के खनाल यति बेला सर्लाहीमा छन् । उनी, आफूले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘मेयर’को लोकेशन हेर्नका लागि सर्लाही पुगेका हुन् । लोकेशन हेर्नका लागि फिल्मका मुख्य कलाकार खगेन्द्र लामिछाने पनि सर्लाही नै पुगेका छन् ।

सर्लाहीमा रहेका दीपेन्द्र के खनालले भने–‘अब हामी छायांकन सुरु गर्ने तयारीमा छौं । फागुनको १५ गतेबाट छायांकन सुरु गर्ने तयारीका साथ लोकेशन हेर्ने काम भइरहेको छ ।’ फिल्मको शीर्ष भूमिकामा खगेन्द्र देखिदैछन् भने अर्का कलाकार अर्पण थापा पनि फाइनल भइसकेका छन् । नायिका भने आफूहरूले अहिलेसम्म फाइनल गर्न नसकेको खनालले बताए । उनले भने–‘केही नयाँ अनुहारमा हाम्रो ध्यान गएको छ । त्यसमध्ये एक जनालाई फाइनल गर्छौ । अहिलेका चल्तीका नायिकाहरू कोही पनि फिल्मको क्यारेक्टरमा फिट हुने देखिएन ।’


फिल्ममा नायिकाले दुई उमेर खण्डमा काम गर्नुपर्ने दीपेन्द्रले बताए । उनका अनुसार, सुरुवातमा युवती र पछि आमाको भूमिकामा काम गर्नुपर्ने भएकाले नयाँ अनुहार खोजिएको उनको भनाई छ । 

यो फिल्मले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको कथा भन्नेछ । अहिले लोकेशन हेर्ने क्रममा मेयर थापा पनि फिल्मको टिमसँगै देखिएका छन् । यो फिल्ममा सागर मैनाली र अरविसा थापाको लगानी रहनेछ ।