फिल्मका पोष्टर र टिजर–ट्रेलरले जगाएको उत्साह

एउटा कुरा के प्रष्ट हो भने, अब दर्शकलाई हलमा सहजै तान्न सकिँदैन । दर्शकले फिल्मको प्रचार सामग्रीमा केही नयाँ कुरा पाएनन् भने हलसम्म आउँदैनन् ।

यसैले, मेकरले अब फिल्मलाई उत्कृष्ट बनाउन त आवश्यक छ नै, फिल्मको प्रचार सामग्रीमा पनि केही नयाँ अनुभुती दिन सक्नुपर्छ ।
यदि, फिल्मको प्रचार सामग्रीले दर्शकमा उत्साह जगाएन भने जति नै हल्ला गरेपनि उनीहरू हलसम्म पुग्दैनन् । फिल्मको समीक्षा आएपछि हलसम्म पुग्ने दर्शकको संख्या पनि बढ्दै गएको छ । 

नेपाली फिल्मका केही पोस्टर, टिजर र ट्रेलर दर्शक र फिल्मीकर्मी दुवैलाई उत्साह जगाएको छ । जसले, अब नेपाली मेकरहरुले केही नयाँ तरिकाले फिल्म भन्न थालेका हुन् कि भन्ने आभास समेत दिलाएको छ । 

फिल्म ‘पुजार सार्की’को फस्टलुक सार्वजनिक भएसँगै यसले चर्चा पायो । फिल्म क्षेत्रका तीन चकलेटी नायकहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई निर्देशक दिनेश राउतले भिन्न गेटअपमा उतार्दैछन् । यो पोस्टर सार्वजनिक भएसँगै यसलाई लिएर दर्शकमा नयाँ उत्साह थपिएको छ । फिल्म क्षेत्रले पनि यो पोस्टरलाई खुलेरै स्वागत गरेको थियो । 

फिल्म ‘अगस्त्य’को पोस्टर र टिजरले छुट्टै हाइप बनाएको छ । पोस्टर सार्वजनिक भएसँगै नायक सौगात मल्लको लुक्सले चर्चा पायो । यसपछि, सार्वजनिक टिजरले त दर्शक र फिल्मीकर्मीलाई नै उत्साह पैदा गरेको छ । सौरभ चौधरी निर्देशित यो फिल्म फागुन १९ गतेबाट रिलिजमा आउँदैछ । यो फिल्मले बक्स अफिसमा सुखद कमाई गर्ने आँकलन हुन थालेको छ । 

आज सार्वजनिक गरिएको फिल्म ‘ह्रस्व दीर्घ’को पोस्टरपछि यसप्रति आम मानिसको ध्यान खिचिने निश्चित छ । फिल्मको प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरिएको पोस्टरले नीता ढुंगाना र हरिहर अधिकारीले केही खास बनाएका छन् भन्ने आभास दिन्छ । 

फागुनको ११ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘गोर्खा वारियर’को ट्रेलर पनि गज्जब छ । नेपाली फिल्मको मेकिङ यसको ट्रेलरमा देखिन्छ । मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मले गोर्खाली सेनाको कथा भन्छ । यो फिल्म आम नेपालीहरूका लागि गर्व गर्न लायक फिल्म बनेको मिलनको दाबी छ । 

फिल्म ‘रंगेली’को टिजरलाई पनि यसको निर्माणपक्षले नयाँ तरिकाले बनाउने कोशिश गर्यो । फिल्मको टिजरलाई भीएफएक्समार्फत नयाँ शैलीमा बनाइएको छ । डेब्यू निर्देशक अर्जुन सुवेदीले फिल्म केही फरक रहेको छनक दिन खोजेका छन् । 

फिल्म ‘महाजात्रा’को २ वटा पोस्टर सार्वजनिक भएसँगै यसको व्यापारिक आँकडाको आँकलन पनि सुरु भइसकेको छ । प्रदीप भट्टराईले हिटको रेकर्डलाई निरन्तरता दिने छनक देखाएका छन् । 

निर्देशक लक्ष्मण सुवेदीको निर्देशनमा तयार भएको फिल्म ‘सतीदेवी’को पोस्टर सार्वजनिक भएपछि यसको चर्चा पनि बढेको छ । नायिका मलिका महतलाई भिन्न तरिकाले देखाइएकाले पनि फिल्मको पोस्टरले सामाजिक संजालमा राम्रो चर्चा बटुलेको हो । 

अब, फिल्मलाई फरक तरिकाले भन्न सकिएन र प्रचारमा नयाँ प्रयोग अपनाउन सकिएन भने दर्शकलाई हलसम्म गाह्रो छ भन्ने मेकरले बुझेका छन् । यसैले, नेपाली मेकरहरु यो विषयमा केही गम्भीर देखिएका छन् ।