‘महाजात्रा’ गराउन तयार हरिवंश
हालै मात्र अमेरिकामा फिल्म ‘भूठान’को छायांकन सकेका कलाकार हरिवंश आचार्य चैत्र ९ गते दर्शकलाई ‘महाजात्रा’ गराउन तयार भएका छन् । निर्माणपक्षले आज सार्वजनिक गरेको फिल्मको दोस्रो पोष्टरमा हरिवंशलाई केन्द्रमा राखिएको छ । यस अगाडि फिल्मको पोष्टरमा हरिवंश ह्वीलचियरमा थिए ।
यसपटक, फिल्मका मुख्य तीन पात्रहरू विपिन कार्की, रवीन्द्र झा र रवीन्द्र सिंह बनियाँलाई हरिवंशले फिल्ममा निकै घुमाउने वुझिएको छ । फिल्मको नाम ‘महाजात्रा’ राखेपछि निर्माणपक्षले हरिवंशलाई नै रोजेको थियो ।
फिल्म ‘महापुरुष’ हिट भएपछि सोही टिमसँग ‘महाजात्रा’मा काम गरेका हरिवंशको भूमिकाले यसपटक फिल्मलाई अझ विशेष बनाउने निर्माणपक्षको दाबी छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्ममा वर्षा राउत, राजाराम पौडेल, दिव्य देव लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।
षट्कोण आर्ट्सको प्रस्तुतिमा तयार भएको फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलको लगानी छ । फिल्मका कार्यकारी निर्माता रवीन्द्र सिंह बानियाँ हुन् भने पुरुषोत्तम प्रधानको फिल्ममा छायांकन छ ।
प्रतिक्रिया