‘पोएट आइडल’मा निर्णायक बस्दा आलोचित भएपछि केकी भन्छिन्–‘सबैको सम्मान गर्छु’

नायिका केकी अधिकारी कविता प्रस्तुत गरिने रियालिटी शो ‘पोएट आइडल’मा निर्णायकको रुपमा छनोट भइन् । पहिलो सिजनमा नायिका सुरक्षा पन्तले सम्हालेको निर्णायकको जिम्मेवारी यसपटक केकीको हातमा छ । केकीसँगै शोमा पहिलो सिजनकै  निर्णायकहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीक छन् । 

नायिकाको रुपमा नेपाली फिल्म क्षेत्रमा लामो समय काम गरिरहेकी केकीलाई ‘पोएट आइडल’को निर्णायकको रुपमा छनोट गरेपछि समर्थन र विरोध दुवै भइरहेको छ । सामाजिक संजालमा केकीलाई लिएर आलोचना पनि खुबै देख्न सकिन्छ । यो शोका लागि केकी निर्णायकमा फिट नभएको तर्क पनि धेरैको सुनियो । 

तर, नायिका केकी अधिकारीले भने आफूले सबैको विचारलाई सम्मान गर्ने बताएकी छिन् । यो विषयमा मेरो फिल्मसँग कुरा गर्दै केकीले भनिन्–‘म सबैको बिचारको सम्मान गर्छु ।’

केकीले आफू शोको फर्म्याट र यसको कन्सेप्टका कारण निर्णायक हुन तयार भएको पनि बताएकी छिन् । साथै, शोका निर्देशक अमन प्रताप अधिकारीको शोप्रतिको सोचले पनि आफूलाई तानेको उनको भनाई छ । 

केकी डान्स रियालिटी शोको निर्णायक भएर काम गरिसकेकी छिन् । यस्तै, उनले कमेडी शोको निर्माण समेत गरेकी छिन् । तर, पहिलो पटक फरक शैलीको शोमा निर्णायकको रुपमा अनुबन्धित भएपछि केकीको आलोचना र समर्थनका स्वरहरु सामाजिक संजालमा खुबै सुनिएका छन् ।