माघ २२ गते देशभरका हल बन्द गर्ने चलचित्र संघको घोषणा
नेपाल चलचित्र संघले माघ २२ गते देशभरका हल बन्द गर्ने निर्णय गरेको छ । सिनेमा भवनहरुलाई अव्यवहारिक कर लगाइएको भन्दै त्यसको विरोध स्वरूप माघ २२ गते हल बन्द गर्ने निर्णय गरिएको हो ।
संघका महासचिव नरेन्द्र महर्जनले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘चलचित्र विकास बोर्ड स्थापना हुनु पूर्व मुलुकमा करिब ४५० चलचित्र घरहरू संचालनमा थिए भने मौजुदा अवस्थामा मुलुकभर करिब १५० संख्यामा चलचित्र घरहरू छन् । संचालनमा रहेका चलचित्र घरहरूको व्यवसाय शुन्यप्रायः छ । चलचित्र क्षेत्रले विभिन्न करहरूको नाममा ३३ प्रतिशतभन्दा बढी करहरू तिर्न वाध्य पारिएको छ भने मूल्य अभिवृद्धि कर तथा कर्पोरेट कर लागू भएपछि अन्य करहरू नलगाउने संहिता विपरीत चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायत विभिन्न करहरुले चलचित्र व्यवसाय संचालन गर्न नसक्ने अवस्था छ ।’
चलचित्र संघले मूल्य अभिवृद्धि कर बाहेकका अन्य अव्यवहारिक करहरूको खारेजीको माग गर्दै साङ्केतिक रुपमा माघ २२ गते देशभरका हल बन्द गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया