फिल्मको नाम र कलाकार फाइनल, तर खोई त निर्देशक ?

फिल्मलाई निर्देशकको अभिव्यक्तिको माध्यम मानिन्छ । सिंगो फिल्मलाई नै बोक्ने र कसरी भन्ने विषयमा निर्देशकलाई पूर्ण अधिकार हुन्छ । यसैले, त फिल्ममा निर्देशक अनुबन्धित भइसकेपछि कथा तयार पारेर, कलाकारलाई कथा अनुसार फाइनल गरिन्छ र छायांकन प्रारम्भ हुन्छ । 

तर, फिल्मको नाम र कलाकार नै फाइनल भइसक्दा पनि निर्देशक को हुने भन्ने विषयमा अन्योल भयो भने के होला ? पक्कै पनि, उक्त फिल्म निर्देशकको पकडमा नरहन सक्छ । 

अब, संजय न्यौपानेले निर्माण गर्ने भनिएको फिल्म ‘रक्तबीज’को अवस्था यस्तै छ । यो फिल्मको नाम, कलाकार सबै फाइनल भइसकेका छन् । तर, निर्देशकमा अझै अन्योल छ । फिल्ममा सौगात मल्ल, विशाल खरेल, प्रमोद अग्रहरी फाइनल भइसकेका छन् । प्रदीप भारद्वाजको कथा रहेको फिल्ममा सौरभ लामाको छायांकन, एलए ग्रुप र कमल खतिवडाको लगानी पक्का भइसकेको छ ।

तर, फिल्मका निर्देशक अझै फाइनल भइसकेका छैनन् । भोलिका दिनमा फाइनल हुने निर्देशकले कलाकारमा परिवर्तन खोजे भने, कथामा परिवर्तन खोजे भने के हुन्छ ? पक्कै पनि फिल्म निर्माणमा यो पुरै उल्टो प्रक्रिया हो । 

अब, नायकद्धय सलोन बस्नेत र सलिनमान बनियाँको मुख्य भूमिका रहने फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’को पनि घोषणा भयो । फिल्मको समाचार बाहिरिएपछि यसका निर्माताले हतार हतार फिल्मको पोस्टर बनाएर घोषणा गरे । तर, यो फिल्मको नाम र कलाकार फाइनल भइसक्दा पनि निर्देशक पक्का भएका छैनन् । 

फिल्म ‘रक्तबीज’को जस्तै अवस्था यो फिल्मको पनि छ । उसो त, नेपालमा कहिलेकाही निर्देशकबिना नै फिल्मको घोषणा गरेर पछि निर्देशक फाइनल गर्ने शैली छ । तर, फिल्म निर्माणमा यो पुरै उल्टो शैली हो ।