‘मोदीबेनी’को शुभसाइत, रेजिनादेखि वर्षासम्म पर्दामा

फिल्म ‘मोदीबेनी’को शुभसाइत गरिएको छ । मंगलबार काठमाडौंको कमलादी स्थित गणेश मन्दिरमा पूजा गर्दै फिल्मको युनिट छायांकनमा निस्किएको छ । यो फिल्ममा नायिका वर्षा सिवाकोटीको पनि प्रवेश भएको छ ।

वर्षाले नव–कलाकार अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्ने पक्का भएको जानकारी शुभसाइत समारोहमा दिइएको छ । वर्षाले फिल्मको टिमको काम गर्ने तरिका र यसको स्क्रिप्ट मन परेर आफूले काम गर्न लागेको बताइन् । वर्षाले, आफूले अहिलेसम्म काम गरिरहेका फिल्म भन्दा यसको कथावस्तु भिन्न भएको बताइन् । 

यो फिल्मबाट ९ बर्षपछि नायिका रेजिना उप्रेतीले पनि कमब्याक गर्दैछिन् । फिल्ममा उनले नव–कलाकार दिलीप केसीसँग रोमान्स गर्दैछिन् । यो फिल्ममा आफूले अहिलेसम्म नगरेको सशक्त भूमिकामा काम गर्न लागेको रेजिना बताउँछिन् ।

यो फिल्ममा सरोज खनाल, रेजिना उप्रेती, वर्षा सिवाकोटी, दिलीप केसी, अमर प्रताप, कमलमणी नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतका कलाकारको अभिनय रहनेछ । शंकर कोइरालाको निर्देशनमा तयार हुन लागेको यो फिल्मले पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनाको कथालाई उठान गर्नेछ ।

डिनेस्ट इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार हुन लागेको यो फिल्मलाई आनन्द विक्रम क्षेत्रीले लेखेका हुन् । फिल्ममा दिलीप केसी निर्माता र हरि श्रेष्ठ सह–निर्माताको रुपमा छन् । यो फिल्मले करिब ४० बर्ष अगाडि र अहिलेको कथालाई मिश्रण गरेर भन्नेछ । 

यो फिल्ममा उत्सव दाहालको छायांकन रहनेछ ।