अभिनेता बन्ने दौडमा नेता

नेपाली फिल्म क्षेत्रबाट राजनीतिमा लाग्ने कलाकारहरूको लाइन लामै छ । अझ, निर्वाचनको समयमा कुनै न कुनै पार्टीको झण्डा बोकेर हिँड्न नेपाली कलाकारहरू लालायित हुन्छन् । कोमल वलीदेखि रेखा थापासम्मले राजनीतिमा पाइला चालिसकेका छन् ।

भुवन केसीको राजनीतिक यात्रा सफल हुन सकेन । राजेश हमालले राजनीतिमा पाइला चाल्ने खबर आएको लामो समय भइसकेको छ । कलाकारहरू धमाधम राजनीतिमा लाग्दै गर्दा नेताहरू पनि नेपाली फिल्ममा देखिन थालेका छन् । 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ‘रातो सूर्य’ नामक फिल्ममा काम गरिरहेका छन् । ओलीको वरिपरी घुमेर तयार भइरहेको यो फिल्ममा ओलीले आफै अभिनय गरिरहेका छन् ।

५० बर्ष भन्दा माथिको उमेरको भूमिकामा ओली आफैले अभिनय गरिरहेका छन् । दीपेन्द्र दाहालको निर्देशनमा यो फिल्म बनिरहेको छ । ५ बर्षदेखि छायांकन भइरहेको यो फिल्मको काम अझै सकिएको छैन । 

उनै, नेता ओली अब रमित ढुंगानाको निर्देशनमा तयार हुन लागेको फिल्म ‘नमेटिने घाउ’मा पनि देखिदैछन् । यो फिल्ममा ओलीलाई प्रधानमन्त्रीको भूमिकामा देखाउने तयारी रमितको छ । फिल्मको घोषणा कार्यक्रममा ओली आफै सहभागी भएका थिए । कलाकारितासँग नजिक रहेका ओलीले दुई वटा फिल्ममा काम गर्ने पक्का भइसकेको छ । 

यो फिल्ममा राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि काम गर्ने पक्का भएको छ । तर, ज्ञानेन्द्रले कुन भूमिकामा काम गर्दैछन् भन्ने खुलेको छैन । 

यता, धरानका चर्चित मेयर हर्क साम्पाङ पनि फिल्ममा देखिदैछन् । उनले, फिल्म ‘खजुरे ब्रो’मा काम गरेका छन् । फिल्ममा उनको एक मिनेटको दृश्य रहेको निर्माणपक्षले बताएको छ । 

नेपाली फिल्म क्षेत्रलाई राज्यले खासै वास्ता नगरेको गुनासो बारम्बार सुनिन्छ । अब, नेताहरू नै अभिनेता बनेपछि राज्यले फिल्म क्षेत्रको समस्यालाई अझ नजिकबाट बुझ्ने अपेक्षा गर्न सकिन्छ ।