सामाजिक काममा ‘हात्तीछाप’ : १५ लाखको औषधी निःशुल्क वितरण
माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’ चर्चामा छ । यो फिल्मले सुस्ताएको बक्स अफिसलाई जुरुक्कै उठाउने अपेक्षा फिल्मीकर्मीको छ ।
सिमोस सुनुवारको निर्देशनमा किरण नेपालीको प्रस्तुतिमा तयार भएको फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, बेनिशा हमाल, कमलमणी नेपाल, सुष्मा निरौला, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय छ ।
फिल्मको प्रमोसनमा रहेको निर्माण टिमले सामाजिक सेवामा पनि हात हालिरहेको छ । यसैबिच, माघको १३ गते ‘हात्तीछाप’को टिमले लायन्स क्लबसँगको सहकार्यमा किस्पाङ २ सातदोबाटोमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।
जहाँ, उपस्थित भएका नागरिकहरूलाई निःशुल्क उपचारका साथै औषधी वितरण समेत गरिएको फिल्मका प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।
यस्तै, जटिल रोगका बिरामीहरूलाई काठमाडौंको टिचिङ अस्पतालमा सहजीकरण गरिने नेपालीको भनाई छ । बृहत्त स्वास्थ्य शिविरमा सात सय बढी नागरिकहरूले निःशुल्क स्वास्थ्य परीक्षण गरेका थिए ।
यस्तै, उक्त शिविरमा १५ लाख भन्दा बढीको औषधी निःशुल्क वितरण गरिएको थियो । यो शिविरमा टिचिङ अस्पतालका ४९ जना डाक्टरहरूले नागरिकहरूको स्वास्थ्य परीक्षण गरेका थिए ।
फिल्म ‘हात्तीछाप’का प्रस्तुतकर्ता नेपाली भन्छन्–‘हामीले फिल्मलाई व्यावसायिक कोणबाट मात्र हेर्नु हुँदैन । फिल्मलाई सामाजिक सेवामा पनि लगाउन सक्नुपर्छ । यसैले, हामीले यो स्वास्थ्य शिविरको आयोजना गरेका हौँ ।’
प्रतिक्रिया