धमाधम फिल्म साइन गर्दै आँचल, समय कुर्दै ‘बर एण्ड बधु’ टिम

नायिका आँचल शर्माको हातमा फिल्म नै फिल्म छ । यो बर्ष फिल्म ‘नाई नभन्नु ल ६’ असफल भएपनि आँचललाई केही फरक परेको छैन । उनको हातमा आधा दर्जन भन्दा बढी फिल्मको लाइनअप छ । आँचलले आइतबार मात्र कृषा चौलागाईंको निर्देशनमा बन्न लागेको फिल्म ‘पिताम्बर’ साइन गरिन् । 

दुई सेड्यूलमा फिल्म ‘डिग्री माइला’को छायांकन सकेकी आँचल अब फिल्म ‘एक मुठ्ठी बादल’को छायांकनको तयारीमा छिन् । यो फिल्ममा उनको भूमिका विशेष हुनेछ । 

आँचलले फिल्म ‘राजमहल’ पनि साइन गरिसकेकी छिन् । फिल्मको घोषणा भएको केही समय भइसक्दा पनि यसको छायांकन सुरु हुन सकेको छैन । यो फिल्ममा आँचलको साथमा रमेश उप्रेती र सलोन बस्नेत मुख्य भूमिकामा छन् । 

आँचलले धमाधम फिल्म साइन गर्दै गर्दा उनलाई निर्देशक मिलन चाम्स भने पर्खिरहेका छन् । आँचलले नव–नायक विवेक कर्माचार्यसँग काम गरेको फिल्म ‘बर एण्ड बधु’को छायांकन सकिएको छैन । रोमानियामा फिल्म खिचेर फर्किएपछि निर्माण टिमले बाँकी छायांकन अगाडि बढाउन नै सकेको छैन । यसैले, मिलन आँचलको डेट नमिलेका कारण छायांकन सुरु गर्न नपाएको बताउँछन् ।

उनले, अब फिल्मको बाँकी रहेको काम अगाडि बढाउने तयारी गरिएको बताए । मिलनका अनुसार, फागुन वा चैत्रमा फिल्मको बाँकी छायांकन सक्ने उनको योजना छ । 

तर, आँचलको समय मिल्छ या मिल्दैन भन्नेमा मिलन दोधारमा छन् । आँचलको लाइनअपमा ‘डिग्री माइला, एक मुठ्ठी बादल, राजमहल, पिताम्बर, बर एन्ड बधू’ र अर्को एक फिल्म छ । अब हेरौँ, आँचलले यी फिल्मलाई समय कसरी मिलाउने छिन् ।