‘नमेटिने घाउ’ निर्माणको घोषणा, ओली प्रधानमन्त्रीको भूमिकामा देखिने

एसिड आक्रमणमा परेका पीडितहरुको कथालाई समेटेर तयार हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित थिए । ओलीले मुहूर्तको अवसरमा पहिलो दृश्यको निर्देशन समेत गरेका  थिए ।

ओलीले एक्सन भन्दा सांसद ज्ञानेन्द्र शाहीले क्ल्याप ठोकेका थिए । यस्तै, कलाकारहरू रमेश उप्रेतीले कट भन्दा धिरेन शाक्यले क्यामेरा रोल र विक्रान्त बस्नेतले नरिवल फुटाएका थिए । यो फिल्मबाट नायक रमित ढुंगानाले निर्देशनमा डेब्यूृ समेत गरेका छन् । यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरुको कथालाई समेटेर बनाउन लागिएको हो ।

शिवम् अधिकारीको कथा, ओम सुनारको संगीतमा तयार हुने फिल्ममा सुरवीर पण्डित, रामचन्द्र अधिकारी लगायतका कलाकारहरूको अभिनय रहनेछ । साथमा फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, संजोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाँई, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र  सिंह कुसाहा लगायतका कलाकारको अभिनय रहनेछ ।

यो फिल्ममा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिदैछन् । फिल्ममा निर्देशक ढुंगानाको केमियो भूमिका समेत रहनेछ । यो फिल्मलाई काठमाडौं, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगञ्ज र चन्द्रपुरमा छायांकन गर्ने तयारी गरिएको छ ।