‘पिताम्बर’मा प्रदीपसँग आँचल र सुरक्षा फाइनल
‘पिताम्बर’मा प्रदीपसँगँ आँचल र सुरक्षा फाइनल
निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पिताम्बर’का लागि कलाकारको लाइनअप बलियो बनेको छ ।
कृषाले यो फिल्मको एक साताको छायांकन माघ महिनामै गर्नका लागि काठमाडौं बाहिर लोकेशन हेरेर आइसकेकी छिन् । यो फिल्ममा नायक प्रदीप खड्का फाइनल भइसकेका छन् । प्रदीपले भोलि फिल्मको निर्माण टिमसँग कागजी संझौता गर्दैछन् ।
यसैबिच, यो फिल्ममा दुई नायिकालाई पनि कृषाले फाइनल गरेकी छिन् । फिल्ममा नायिका सुरक्षा पन्त फाइनल भइसकेकी छिन् । उनीसँग निर्माणपक्षले कागजी संझौता गरिसकेको छ । यस्तै, नायिका आँचल शर्मासँग पनि फाइनल कुराकानी भएपनि कागजी संझौता मात्र हुन बाँकी रहेको कृषाले मेरो फिल्मलाई बताएकी छिन् ।
आँचल फिल्म ‘डिग्री माइला’को छायांकनका लागि ३ साता काठमाडौं बाहिर रहेकाले कागजी संझौता हुन नपाएको कृषाको भनाई छ । योसँगै फिल्ममा नायक खड्कासँग आँचल र सुरक्षाले जोडी बाँध्ने पक्का भएको छ ।
कृषाले यो फिल्मलाई तराईको सेटअपमा खिच्दैछिन् । फिल्मलाई एक्सन प्रधान बनाउने तयारी उनको छ । फिल्ममा श्री श्रेष्ठले एक्सन निर्देशन गर्दैछन् ।
फिल्ममा प्रमोद अग्रहरी, कामेश्वर चौरासिया फाइनल भइसकेका छन् । मुख्य खल पात्रको भूमिकामा नायक अनुप विक्रम शाहीलाई अफर गरिएको छ । अनुपसँग केही कुरा मात्र मिल्न बाँकी रहेकाले चाँडै उनी पनि अनुबन्धित हुने निर्माणपक्षले बताएको छ ।
फिल्म ‘पिताम्बर’लाई ५ करोड भन्दा माथिको बजेटमा निर्माण गर्ने तयारी कृषाको छ । यो फिल्मलाई दुई सेड्यूलमा खिच्ने तयारी उनको छ । फिल्ममा अर्का एक नाम चलेका नायकको पनि इन्ट्री हुने वुझिएको छ ।
पहिलो फिल्म ‘एैँचो पैँचो’बाट असफलता भोगेपछि कृषा दोस्रो फिल्ममा भने गम्भीर देखिएकी छिन् । यसैले, यसपटक उनी फिल्मको कथावस्तु, कलाकारको लाइनअप बलियो बनाएर मात्र काम अगाडि बढाउने तयारीमा लागेकी हुन् । प्रदीप भारद्वाजले लेखेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन रहनेछ ।
प्रतिक्रिया