अरु नायिकासँग प्रतिस्पर्धा गर्दा आफैलाई नराम्रो हुन्छ जस्तो लाग्छः उपासना

उपासना सिंह ठकुरी नयाँ पुस्ताकी सफल नायिका हुन् । उनले अभिनय गरेका फिल्मले व्यापारिक रुपमा सफलता हात पारेका छन् । फिल्म ‘डिसेम्बर फल्स’ बाहेक उनले अभिनय गरेका सबै फिल्म सफल छन् ।

यसैले, उपासनालाई लिएर फिल्म बनाउन मेकर उत्साहित पनि हुन्छन् । तर, उपासना भने फिल्ममा काम गर्नका लागि समय लगाउँछिन् । उनले, निकै कम फिल्म साइन गरेकी छिन् । उपासना, आफूलाई फिल्मको स्क्रिप्ट र टिम राम्रो लागेपछि मात्र फिल्ममा काम गर्न उत्साहित हुने बताउँछिन् । 

उपासनासँगै अहिलेको समयमा अन्य थुप्रै नायिकाहरू बजारमा अगाडि बढिरहेका छन् । तर, उपासना आफूले कसैलाई पनि प्रतिस्पर्धी नठान्ने तर्क गर्छिन् । मेरो फिल्मसँग कुरा गर्दै उनले भनिन्–‘मलाई त मलाई त कसैसँग पनि प्रतिस्पर्धी भावना आउँदैन । यस्तो सोच आयो भने आफैंलाई नराम्रो हुन्छ कि जस्तो लाग्छ ।’

उनले, आफूलाई अरु नायिकाको कुरा सुन्न र बुझ्न निकै मन लाग्ने पनि बताइन् । उनले भनिन्–‘मैले काम गर्ने फिल्ममा अरु कोही नायिका आउँदा म त निकै उत्साहित हुन्छु । किनकी, राम्रो कलाकार टिममा जोडिँदा मलाई नै राम्रो हुन्छ जस्तो लाग्छ । यसैले, कहिले पनि मैले प्रतिस्पर्धी भावना बोकेर हिँडेकी छैन ।’

उपासना अभिनित फिल्म ‘हात्तीछाप’ माघको २६ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको कथावस्तु सामाजिक विषयमा केन्द्रित रहेको भन्दै उपासना उत्साहित देखिइन् । यस्तै, उनी फिल्म ‘खुस्मा’को छायांकनमा पनि व्यस्त छिन् ।