कृषाले ‘पिताम्बर’ बनाउने पक्का

फिल्म ‘एैँचो पैँचो’की निर्देशक कृषा चौलागाईंले बनाउन लागेको नयाँ फिल्मको नाम ‘पिताम्बर’ राखिएको छ । कृषाले मेरो फिल्मसँग कुरा गर्दै ‘पिताम्बर’ नाम राखेर फिल्म बनाउन लागेको पुष्टि गरिन् । 

यो फिल्मको कथावस्तु र कलाकारको बारेमा केही पनि बताइएको छैन । अहिले फिल्मको टिम लोकेशन हेर्नका लागि काठमाडौं बाहिरको दौडधुपमा छ । 

कृषाले यो फिल्मको छायांकन माघबाट नै सुरु हुने बताएकी छिन् । पहिलो चरणमा एक साता लामो छायांकन माघमा गर्ने उनको तयारी छ । यसपछि, वैशाखमा फिल्मको छायांकन सुरु गर्ने उनले बताइन् । 

फिल्ममा प्रदीप भारद्वाजको लेखन, पुरुषोत्तम प्रधानको छायांकन पक्का भइसकेको छ । फिल्मका लागि कृषाले नाम चलेका कलाकारहरूसँग नै कुराकानी गरिरहेकी छिन् । फिल्ममा प्रमोद अग्रहरी र कामेश्वर चौरासिया फाइनल भइसकेका छन् । 

कृषाले फिल्म ‘एैँचो पैँचो’बाट निर्देशनमा डेब्यू गरेकी थिइन् । यो फिल्मले औसत व्यापार गरेपनि कृषा दोस्रो फिल्मको तयारीमा धमाधम लागिपरेकी छिन् । फिल्मका लागि केही बाल कलाकारहरूको अडिसन समेत भइसकेको छ ।