यी दुई सफल महिला निर्देशक, जो आफ्नै व्यानरमा अल्झिदैछन्
दीपाश्री निरौला नेपाली फिल्म क्षेत्रकै सर्वाधिक सफल महिला निर्देशक हुन् । नेपाली फिल्म क्षेत्रमा ३ ब्लकबस्टर फिल्म दिने दीपाश्री एक्ली महिला निर्देशक हुन् ।
उनले, निर्देशन गरेका ‘छक्का पन्जा, छक्का पन्जा २ र छक्का पन्जा ३’ बक्स अफिसमा सर्वाधिक सफल भए । यी तीन फिल्म निर्देशन गरेकी दीपाश्रीले आफ्नै घरको ब्यानर भन्दा बाहिरको फिल्ममा हात हालेकी छैनन् ।
आमा सरस्वती मुभिजको फिल्ममा मात्र केन्द्रित दीपाश्रीले ‘छक्का पन्जा ४’ निर्देशक हेमराज बीसीको पोल्टामा सुम्पिइन् । यदि, यो फिल्म पनि उनले नै निर्देशन गरेको भए उनको नाममा अर्को नयाँ रेकर्ड पनि बन्ने पक्का थियो ।
दीपाश्रीले ब्लकबस्टर फिल्ममा ह्याट्रिक गरेपनि उनले आमा सरस्वती मुभिज बाहिरका फिल्म निर्देशन गर्ने आँट अहिलेसम्म गरेकी छैनन् । उनी, फेरि भने होम प्रोडक्शनकै फिल्म निर्देशन गर्ने तयारीमा छिन् ।
दीपाश्री जस्तै अर्की महिला निर्देशक झरना थापाको कथा पनि उही छ । झरनाले फिल्म ‘ए मेरो हजुर २’बाट निर्देशनमा हात हालिन् । ‘ए मेरो हजुर २ र ३’ सुपरहिट भए । तर, यसको चौथो सिरिज औसत चल्यो । यसपछि, झरनाले फिल्म ‘एक भगवत् र एक गीता’ निर्देशन गरिन् । यो फिल्म भने बक्स अफिसमा असफल भयो ।
दीपाश्री जस्तै झरनाले पनि सुपरहिट फिल्म निर्देशन गरिरहेकी छिन् । तर, उनी पनि आफ्नो घरकै ब्यानर भन्दा बाहिर निस्कन सकेकी छैनन् ।
जसले गर्दा, यी सफल महिला निर्देशकहरूलाई हिट फिल्म दिएर पनि अरु ब्यानरले नपत्याएका हुन् कि भन्ने आशंका दर्शक माझ पैदा हुन सक्छ ।
के यी दुई सफल महिला निर्देशक, आफ्नो ब्यानर भन्दा बाहिर निस्केलान् ? प्रतीक्षा सबैलाई छ ।
प्रतिक्रिया