‘फाइटर’लाई नेपालमा उच्च शो, तर दयनीय छ बुकिङ

बलिउडका एक्सन फिल्मले नेपालमा पनि राम्रो कमाई गरिरहेको समयमा भोलीबाट नयाँ बलिउड फिल्म ‘फाइटर’ रिलिज हुँदैछ । 

यो फिल्मलाई नेपालका मल्टिप्लेक्सहरुले उच्च शोज दिएका छन् । ‘डंकी र सलार’पछि नेपाली हलमा फिल्मको व्यापार निकै कमजोर रहेको समयमा यो फिल्ममाथि प्रदर्शकको उच्च विश्वास देखिएको छ ।

तर, बिहिबारदेखि रिलिज हुन लागेको यो फिल्मको नेपालमा बूकिङ भने दयनीय नै छ । फिल्मले नेपालमा भोलि बिहिबार कमजोर ओपनिङ गर्ने देखिएको छ । 

यसअघि, नेपालमा ‘सलार र डंकी’को बूकिङ सुखद थियो । ‘पठान, जवान र एनिमल’ जस्ता फिल्मले आक्रामक बूकिङ गरेका थिए । तर, ऋतिक रोशन र दीपिका पादुकोण जस्ता कलाकारको अभिनय रहेको र सिद्धार्थ आनन्दको निर्देशनमा तयार भएको फिल्मको बूकिङ भने सबै हलमा निकै नै कमजोर देखिएको छ । 

बिहानी शोदेखि रात्रीकालिन शोसम्मका शोमा सिटहरु खाली देखिएका छन् । यसैले, अब यो फिल्मले नेपालमा सुखद कमाई गर्नका लागि वर्ड अफ माउथमा नै भर पर्नुपर्ने देखिएको छ ।