फागुन ३ बाट ‘कमेडी च्याम्पियन ३’ प्रशारण हुने

‘कमेडी च्याम्पियन ३’को प्रशारण फागुनको ३ गतेबाट सुरु हुने भएको छ । कान्तिपुर टेलिभिजनबाट शोको प्रशारण हुन लागेको जानकारी बुधबार आयोजित पत्रकार सम्मेलनमा गराइएको छ । थ्री प्रोडक्शनले यो शोको निर्माण गरिरहेको छ । 

यो शोका निर्देशक विशाल भण्डारीले एडी रिलिजसँगको सहकार्यमा नेपालको मौलिक रियालिटी शोको तेस्रो सिजन प्रशारण गर्न लागिएको जानकारी दिए । उनले, कोरोनाका कारण बजार फस्टाउन नसकेकाले तेस्रो सिजन प्रशारण गर्न केही ढिला भएको पनि स्पष्ट पारे । 

तेस्रो सिजनको डिजिटल अडिसनमा हजार भन्दा बढीले सहभागिता जनाएको बताइएको छ । जसबाट १३२ जनालाई छानिएको र त्यसबाट पनि ७६ जना प्रि अडिसन राउन्डमा सहभागी भएका थिए । अडिसन राउन्डबाट सुपर ३० छानिने छन् भने त्यसपछि १६ जना सुपर १६ मा प्रवेश गर्नेछन् । 

यसअघिका दुई सिजनमा सुपर २४ र सुपर १५ छानिने गरेको भएपनि यसपटक प्रतिस्पर्धीहरुबिच बेजोड प्रतिस्पर्धा रहने भएकाले नियममा केही परिवर्तन गरिएको निर्देशक भण्डारीको भनाई छ । 

शोको निर्णायकमा पहिलो र दोस्रो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा र प्रदीप भट्टराई छन् । 

शोको होस्ट रिमा विश्वकर्मा र मेक्सम गौडेलले गर्नेछन् । यो शो हरेक साताको बिहिबार र शुक्रबार राती ९ बजेदेखि साढे १० बजेसम्म कान्तिपुर टीभीमा प्रशारण हुनेछ । यो शो ३३ भाग प्रशारण हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।