रियालिटी शोमा केकीः कमेडी शोको निर्मात्री, पोएट आइडलमा निर्णायक

नायिका केकी अधिकारीको यात्रा म्युजिक भिडियो, नायिका हुँदै फिल्मी निर्मातासम्म अगाडि बढिसकेको छ । उनले फिल्म ‘कोहलपुर एक्सप्रेस’ निर्माण गरेर आफूलाई निर्माताको रुपमा अगाडि बढाएकी थिइन् । 

यसपछि, केकी रियालिटी शोको निर्मात्री पनि बनिन् । उनी ‘कमेडी च्याम्पियन’ नामक कमेडी शोको निर्मात्री बनिन् । यो शोलाई विशाल भण्डारीले निर्देशन गरेका थिए । 

केकीले यसपछि आफूलाई निर्णायकको रुपमा अगाडि बढाएकी थिइन् । केकी ‘मेरो डान्स यूनिभर्स’को निर्णायक पनि बनिन् । अब, उनै केकी ‘द पोएट आइडल’को दोस्रो सिजनको निर्णायक बन्ने पक्का भएको छ । पहिलो सिजनमा नायिका सुरक्षा पन्त यो शोको निर्णायक थिइन् । अब, उनको ठाउँमा निर्माताले केकीलाई भित्र्याएका हुन् । 

पहिलो शोका पुरुष निर्णायकहरु उपेन्द्र सुब्बा, अनुप बराल र विप्लव प्रतीकले भने दोस्रो सिजनमा पनि निरन्तरता पाएका छन् । यो शोको निर्देशन अमन प्रताप अधिकारीले गर्नेछन् । 

यो शोलाई कुल ३१ भागमा प्रशारण गरिने अमनको भनाई छ । शोको होस्ट दिव्य देवले गर्नेछन् । 

केकी अधिकारीले आफ्नो करिअरमा मोडल, नायिका, निर्मात्री हुँदै डान्स शोको निर्णायकको अनुभव हासिल गरिसकेकी छिन् । अब, उनी कविताको प्रतिस्पर्धामा मुल्यांकनकर्ताको अनुभव लिने तयारीमा छिन् ।