सौगातको गुनासो–‘आराम गर्न पाइदैन, साथीहरु दुःख देखाउँदै आउँछन्’

तपाइले त भटाभट फिल्म साइन गरिरहनुभएको छ नी होइन भन्ने मेरो फिल्मको प्रश्नमा रमाइलो जवाफ दिँदै नायक सौगात मल्लले भने–‘दयाको भन्दा त कमै छ नी ।’

दयाहाङ राईले दर्जन बढी फिल्म साइन गर्दा सौगातको पनि लाइनअपमा आधा दर्जन फिल्म छन् । तर, दयाको अगाडि आफूले कम फिल्म साइन गरेको भन्दै सौगात हलुका महशुश गरिरहेका छन् । 

तर, सौगात मल्लले आफूलाई आराम गर्ने समय नभएको भन्दै चिन्ता व्यक्त गरे । यसको पछाडि उनले दुई कारण दिएका छन् । उनले मेरो फिल्मसँग भने–‘फिल्म बनाउने सबै आफ्नै साथीहरू नै हुन्छन् । यसो आराम गरौँ भन्यो, साथीहरू दुःख लिएर आइ पुग्छन् । साथीहरूका लागि यति पनि गर्न नसके के गर्नु त भन्या जस्तो लाग्छ अनि काम गर्छु । साथीहरूले अप्ठ्यारो पर्यो भनेपछि आफूले कसरी आराम गर्नु ?’

साथीहरूको दुःख सुनेपछि अब यो प्रोजेक्टलाई पार लगाउनु पर्ला भन्ने सोच आउने गरेको सौगातले बताए । 

तर, सौगातले कतिपय भूमिकाहरू निकै मन परेर पनि गर्ने गरेको बताए । उनले भने–‘हामीलाई यति धेरै गाह्रो छ, तिमी भने आराम गर्ने भन्दै साथीहरू फिल्मको अफर लिएर आउँछन् । यो बेला आराम गर्ने होइन भन्छन्, अनि काम गर्नै पर्यो होइन र ?’

सौगातले सबै फिल्म आफूले करकापमा मात्र नगरेको सुनाए । कतिपय फिल्मको पात्रले तानेपछि छाड्न मन नलाग्ने उनको भनाई छ ।  

माघको २६ गतेबाट रिलिज हुन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा दौडधूप गरिरहेका सौगात केही दिनमै नयाँ फिल्म ‘सिटामोल’को छायांकनमा जाने तयारीमा छन् ।