भरियो फागुन

५ महिना फिल्म रिलिजको चाप कम भएपनि फागुनबाट भने एकाएक बढ्ने देखिएको छ । भदौमा फिल्मको चाप उच्च भएपनि त्यसपछि भने निकै कम भयो । हरेक महिना २ वटा मात्र फिल्म रिलिज भएका थिए । 

असोजमा ‘परदेशी २ र वानर सेना’ रिलिज हुँदा कार्तिकमा ‘पशुपति प्रसाद २ र दिमाग खराब’ मात्र रिलिजमा आए । मङसिरमा ‘जम्प र दुई कदम’, पौषमा ‘पर्खि बसेँ तिमीलाई र चित्रा’ रिलिजमा आए । 

अब, माघमा ‘हात्तीछाप र दयारानी’मात्र रिलिजमा आउँदैछन् । यसरीहेर्दा, विगत ५ महिनादेखि फिल्म रिलिजको संख्या हरेक महिना २ वटा मात्र देखिएको छ ।

तर, फागुन महिनामा भने हरेक साता नयाँ नेपाली फिल्म रिलिज हुने पक्का भएको छ । 

फागुनको ४ गते फिल्म ‘जिग्री’ रिलिज हुँदैछ । यसको एक सातापछि फागुन ११ गते ‘गोर्खा वारियर’ रिलिज हुँदैछ । फागुनको १८ गते वर्षकै प्रतीक्षित फिल्म ‘अगस्त्य’ रिलिज हुने पक्का भइसकेको छ । फागुनको २५ गते भने ‘उपहार, रंगेली र काँडेतार’ रिलिज हुँदैछन् ।

यसरीहेर्दा, भदौ महिनापछि यो बर्ष फागुन महिनामा फिल्म रिलिजको चाप उच्च देखिएको छ । जसले गर्दा, हरेक साता दर्शकले नेपाली फिल्मका लागि पैसा खर्च गर्नुपर्ने हुन्छ । 

फागुनको २५ गतेपछि भने दुई साता फिल्म रिलिजको सेड्यूल छैन । एकैपटक चैत्र ९ गते फिल्म ‘महाजात्रा’ रिलिज हुँदैछ । यस्तै, यो फिल्म रिलिज भएको ३ सातापछि नयाँ बर्षको छेको पारेर चैत्र ३० गते ‘डिग्री माइला र रेड सुटकेस’ रिलिज हुँदैछन् ।