फिल्ममा लामो होइन, छोटो भूमिका खोज्छन् दयाहाङ

नायक दयाहाङ राई फिल्म ‘भुठान’को छायांकनका लागि अमेरिका पुगेका छन् । यो फिल्ममा दयाको लामो भूमिका छैन । उनी, करिब १० दिन मात्र अमेरिका बस्नेछन् । तर, उनको फिल्मका लागि काम १० दिन पनि नभएको वुझिएको छ ।

दया अमेरिकामा रहँदै गर्दा उनले अभिनय गर्ने पक्का भएको फिल्म ‘मनसरा’को छायांकन धमाधम चलिरहेको छ । उपेन्द्र सुब्बा निर्देशित फिल्ममा मिरुना मगरले काम गरिरहेकी छिन् । यो फिल्ममा पनि दयाको छायांकन समय धेरै लामो नभएको वुझिएको छ ।

दयाले, फिल्म ‘घर ज्वाँई’लाई पनि समय दिनुपर्नेछ । यो फिल्मको वर्कशप सुरु भइसकेको छ । तर, फिल्मका नायक–नायिका अर्कै फिल्मको छायांकनमा व्यस्त छन् । यता, माघको २६ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘हात्तीछाप’को प्रचारमा पनि दयाले समय दिनुपर्नेछ । दयाले अमेरिकाबाट फर्किएपछि यो फिल्मको प्रचारमा समय दिने बताएका छन् । 

दयाको हातमा फिल्मको यति लामो लाइन छ कि, उनी एउटा फिल्मलाई केही दिन दिएर अर्को फिल्ममा समय दिन हतार गरिरहेका छन् ।

जसकाकारण, उनी फिल्म अफर गर्न जानेलाई आफ्नो लागि लामो भूमिका नराखिदिन आग्रह गर्न थालेका छन् । यदि, फिल्ममा आफ्नो भूमिका लामो छैन र धेरै दिन समय दिनु नपर्ने भएको खण्डमा दयाले फिल्म साइन गर्ने गरेको वुझिएको छ ।

मेकरलाई पनि हिजोआज दयाहाङको अनुहार मात्र बिकाउन पाएको खण्डमा पुग्ने भएको छ । दयालाई राख्दा विदेशमा पनि फिल्म बेच्न सजिलो हुने, बजारमा पनि फिल्मको व्यापार राम्रो हुने अपेक्षा गर्दै मेकरले उनलाई छोटो भूमिकाका लागि पनि अनुबन्धित गर्न थालेका छन् ।