मीनको ‘शाम्बाला’ले रच्यो इतिहास, बर्लिन फिल्म फेस्टिभलमा छनोट

निर्देशक मीन बहादुर भामको निर्देशनमा तयार भएको फिल्म ‘शाम्बाला’ले नयाँ इतिहास रचेको छ । यो फिल्म विश्व प्रतिष्ठित बर्लिन फिल्म फेस्टिभलको प्रमुख प्रतिस्पर्धातर्फ छनोट हुने पहिलो नेपाली फिल्म बनेको छ । बर्लिन फिल्म फेस्टिभलको ७४ औं सँस्करणतर्फ ‘अन्तराष्ट्रिय फिल्म’को विधामा यो फिल्म छनोट भएको हो । 

यो फिल्ममा मिनले हिमाली भेगकी गर्भवती महिला पेमाले व्यापारका लागि ल्हासातिर हराएका आफ्ना पतिको खोजीका क्रममा भोगेका अनुभव समेटिएको छ । आफ्ना देवरसँग पतिको खोजीमा हिँडेकी पेमाले सोही यात्राका क्रममा भोगेका अनुभवलाई यो फिल्मले पर्दामा उतारेको छ । 

मीनले अविनाश विक्रम शाहसँग मिलेर लेखेको यो फिल्मलाई डोल्पाको ४२ सयदेखि ६ हजार मिटरको उचाइमा खिचिएको छ । फिल्मलाई टिबेटियन र नेपाली भाषामा तयार पारिएको निर्माणपक्षले बताएको छ । 

यो फिल्मलाई ९ लाख ८० हजार यूरोमा तयार पारिएको छ । यो फिल्ममा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य लगायतका कलाकारको अभिनय छ । यो फिल्मले बहु पति प्रथाको कथालाई समेत उठान गरेको छ । 

यो फिल्मको सुरुवातमा नाम ‘चिसो बर्ष’ राखिएको थियो । तर, ४४ वटा ड्राफ्ट तयार पारेपछि मीनले फिल्मको नाम ‘शाम्बाला’ राखेका हुन् । यो फिल्मका लागि मीनले ८ बर्षको समय लगाएका थिए । तर, फिल्म खिच्नका लागि भने उनले लामो समय लगाएनन् ।